Loading

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्ता र शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए ।

पशुपति आर्यघाट लैजानुअघि श्रद्धाञ्जलीका लागि गिरीको पार्थिव शरीरलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरीको शनिबार राति साढे ९ बजे ७५ वर्षको उमेरमा ललितपुरस्थीत मेडिसिटी अस्पतालमा निधन भएको हो ।

शोक प्रस्ताव पारित

यसैवीच प्रतिनिधिसभाको र्बठकले सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरीको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

२०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरी २०६२–०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७० को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरीको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरीको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक ७ भदौ मंगलबार बस्ने सभामुख सापकोटाले जानकारी दिए ।

16