Loading

काठमाडौं/ नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्ष चयन भएका छन् ।

प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो । यस्तै उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य एवं माओवादी पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा निर्मल आचार्य चयन भएको प्रतिष्ठानले जनाएको छ ।

नेता पुन माओवादीभित्र बोगटीका अनुयायीका रुपमा चिनिन्छन् । नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिरसमेत लोकप्रिय थिए ।

२०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयाघातका कारण निधन भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । बोगटीका एक मात्र छोरा रवि बोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा मारिएका थिए ।