Loading

बाजुरा । निर्वाचन आयोगद्वारा दोस्रोपटक चुनाव गराइएको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा प्रमुख–उपप्रमुख सहित ७ वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
आइतबार बिहान सकिएको मतगणनाअनुसार प्रमुख–उपप्रमुख सहित १० वटा वडामध्ये ७ वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । तर बहुमत सहित प्रमुख उपप्रमुख जित्ने दाबि गरेको नेपाली कांग्रेसले भने केवल ३ वटा वडाध्यक्ष जितेर चित्त बुझाएको छ ।
एमालेका रामबहादुर बानियाँले कांग्रेसका रङ्गबहादुर खातीलाई ९५८ मतले पछि पार्दै हराए । त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्काले पनि कांग्रेसकी रिता शाहीलाई ८८० मतले पराजित गरेकी छन् । निर्वाचन आयोगका अनुसार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर विजयी भएका हुन् । उनीसँग पराजित कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाए । उपप्रमुख पदमा विजयी कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन् । उनीसँग पराजित कांग्रेसका उम्मेदवार रिता शाही (शाह) ले ३ हजार ७ सय ५५ मत ल्याइन् ।

कुल १३ हजार ६ सय ५९ मतदाता रहेको उक्त नगरपालिकामा असार २३ गते भएको निर्वाचनमा केवल ६६।८३ प्रतिशत मात्र मत खसेको होे । तर, यसअघि बैशाख ३० गते भएको निर्वाचनमा भने ७५।५८ प्रतिशत मत खसेको थियो ।
वैशाख ३० मा निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । यसपटकको निर्वाचनमा पनि बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवादपछि प्रहरीले थप झड्प हुन नदिन हवाइ फायर गरेको थियो ।