![]()
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली काँग्रेस अछामले सहमति तोड्दै गद्दारी गरेको आरोप लगाएका छन् । मंगलबार उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर सहमति पत्र समेत पोष्ट गर्दै उक्त आरोप लगाएका हुन् ।
केन्द्रीय सदस्य भण्डारीले सहमति तोडेबापत आगामी संघ र प्रदेशको निर्वाचनमा काँग्रेसलाई हराइदिने घुमाउरो पारामा भनेका छन् । उनले भनेका छन्, ‘हाम्रो भोटले कांग्रेसले अछाममा जस्तै कमलबजारको मेयर, रामारोशन गापा अध्यक्ष, तोसीको वडा अध्यक्ष लगायत विभिन्न ठाउँमा जित्यो तर अहिले आएर सहमति तोडेको छ ।’
उनले अगाडि भनेका छन् नेकपा एसको सहयोग नगरेको भय कुनै हालतमा कांग्रेसको उम्मेदवारको जित हुने थिएन । नेपाली कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाहले आपूmले गरेको सहमतिलाई उल्लंघन गरेका छन् ।
तुर्माखाद गाउँपालिका र मंगलसेन नगरपालिकामा कांग्रेसलाई सहयोग गरेबापत जिल्ला समन्वयको उपप्रमुख र २ जिल्ला समन्वय समिति सदस्य हाम्रो पार्टीको हुने कुरा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द शाह, पुर्वसभापति भरतबहादुर स्वाँर र वर्तमान पार्टी सभापति पुष्प शाहले सहमती गरेको बताएका छन् ।
भण्डारीले आज(बुधबार) बिहान सम्म पनि मैले फोन गर्दा हुन्छ भन्ने तर आज सहमति नगरी जिल्ला समन्वय एकलौटी ढङ्गले बनाऐले हाम्रो घोर आपत्ति छ । स्थानीय निर्वाचनको हिसाब किताब प्रदेश र संघको निर्वाचनमा हामी गर्नेछौं ।
उता कांग्रेसका सभापति पुष्पबहादुर शाहले भने हैसियत अनुसार भाग लगाएको बताएका छन्। ‘माओवादी र एकीकृत समाजवादीलाई १/१ सदस्य जिल्ला समन्वय समितिमा दिएका छौं। शंकर भण्डारीले भने अनुसार हिस्सेदारी पाउन त स्थानीय तहमा जित्न पनि पर्यो नि’ उनले भने ।
यता, अछाममा प्रमुखसहित सदस्यमा नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । जिसस सदस्यमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई एक–एक सदस्य दिएर नौ पदमा मनोनयन दर्ता गराएको नेपाली काँग्रेसले जनाएको छ ।
नेकपा (एमाले) ले प्रमुखसहित सबै पदमा उम्मेदवारी दर्ता गराएका हुन् । काँग्रेसबाट साँफेबगर नगरपालिका–८ चण्डिकाका वडा सदस्य ललितबहादुर कुँवरको उम्मेदवारी परेको हो । उपप्रमुखमा पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान निवासी दानमती बम शाहीको काँग्रेसबाट उम्मेदवारी दर्ता भएको छ ।
एमालेतर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा मंगलसेन नगरपालिका–६ तेसिङ्गेका वडा सदस्य दुर्गाप्रसाद भण्डारीको उम्मेदवारी परेको छ । एमालेबाटै उपप्रमुखमा साँफेबगर नगरपालिका –६ भागेश्वरकी वडा सदस्य पुतली रावललाई उम्मेदवार बनाएको छ । जिसस सदस्य पदमा सात जनाको उम्मेदवारी दर्ता गराएको एमाले अछामका सचिवालय सदस्य लिलाराज केसीले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नारायण पौडेलका अनुसार काँग्रेस, माओवादी र समाजवादी गठबन्धन र एमालेको गरेर १८ जनाको उम्मेदवारी दर्ता भएको छ । आउँदो शनिबारमा गाउँ तथा नगरका प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र उपप्रमुखले मतदान गर्नेछन् ।
जिसस अछाम निर्वाचनका क्रममा जम्मा २० मतभारमध्येमा काँग्रेसका ११, एमालेको छ, माओवादी केन्द्रका दुई र समाजवादीका एक मतभार छन् । काँग्रेस, माओवादी र समाजवादी मिल्दा १४ मतभार हुनेछ । यसअघिको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख काँग्रेस र माओवादी केन्द्र गठबन्धन गरिएको थियो । प्रमुख र उपप्रमुखमा पुरुष नै रहेका थिए ।

