![]()
टीकापुर, १८ जेठ/जोशीपुर र जानकी गाउँपालिकामा आज बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा सबै नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वारहरु विजयी भएका छन् ।
जोशीपुर गाउँपिालिकामा निर्वाचन अधिकृत शिवराज भट्टले दिएको जानकारी अनुसार महिलातर्फ फूलमति डगौरा, ईश्वराकुमारी टमट्टा, सरस्वती डगौरा, सोनी डगौरा विजयी भएका छन्भने दलित अल्पसंख्यकबाट राजेश सुनार र राजकुमारीदेवी कुमाल विजयी भएका हुन् । उनका अनुसार १५ सदस्यीय कार्यपालिकामा नागरिक उन्मुक्तिका मात्रै १२ सदस्य निर्वाचित भएका छन् ।
जानकी गाउँपालिकाका निर्वाचन अधिकृत विश्वदीप वेस्राले दिएको जानकारी अनुसार सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा पार्वतीदेवी डगौरा थारु, पवित्रा विश्वकर्मा, इन्द्रा सोप विक, लक्ष्मी चौधरी र दलित अल्पसंख्यकबाट राधा भूल र नरबहादुर कुमाल निर्वाचित भएका हुन् । जानकीमा १७ सदस्यीय गाउँ कार्यपालिकामा १० जना नागरिक उन्मुक्तिका मात्रै निर्वाचित भएका छन् ।
बर्दगोरियामा एमालेका निर्वाचित
यसैगरी बर्दगोरिया गाउँकार्यपालिका सबै सदस्य नेकपा एमालेका निर्वाचित भएका छन् । निर्वाचित हुनेमा कलावती रेग्मी, माया चौधरी, मिरा आलेमगर, सरस्वती कामी, पुष्कर विक र भीमबहादुर विक रहेका छन् । ६ वडा वडा रहेको यस गाउँपालिकामा ६ कार्यपालिका सदस्यका लागि निर्वाचन भएको थियो । १४ सदस्यीय कार्यपालिकामा नेकपा एमालेका मात्रै ९ सदस्य पुगेका छन् ।
यसअघि निर्वाचित ३२ जनप्रतिनिधिमा काँगे्रस माओवादी गठबन्धनका १६ र नेकपा एमालेका १६ जना निर्वाचित भएका थिए ।
भजनीमा नाउपा र एमाले गठबन्धन विजयी
भजनी नगरपालिका नगर कार्यपालिका सदस्यहरुको बुधबार भएको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
विजयी हुने कार्यपालिकाका सदस्यहरुमा महिलातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जैसरा कामी ओड, मनदेवी चौधरी, कृष्णकुमारी चौधरी, शान्तिकुमारी चौधरी, राजमति चौधरी निर्वाचित भएका छन् । यसैगरी दलित अल्पसंख्यक तर्फ नेकपा एमालेका प्रेमबहादुर चन्दारा, रामदेव राजी र नागरिक उन्मुक्ति पार्टीका गणेशकुमार विक विजयी भएका हुन् ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनका विरुद्ध भजनीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले गठवन्धन बनाएको थियो ।
