![]()
टीकापुर/टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह सहितका जनप्रतिनिधिहरुले कर्णाली किनारको मंगलबार अवलोकन गरेका छन् । उक्त टोलीलाई रानी जमरा कुलरिया सिचाई आयोजनाका प्रमुख केदार श्रेष्ठ सहितको प्राविधिक टोलीले नदी कटान र त्यसको ब्यवस्थापनका विषयमा जानकारी गराएको हो ।

टोलीले टीकापुर नगरपालिका क्षेत्रमा रहेका सनकट्टीघाट नजिकै रहेको मुलपानी क्षेत्र, जानकी गाउँपालिका क्षेत्रमा रहेको रानी कुलाका् मुहान क्षेत्र मालझुल, कैलाशेश्वर मन्दिर क्षेत्र, पाताभार, जमराको मुहानक्षेत्र पूर्वी खैरीफाँँटा लगायतका कर्णाली किनार क्षेत्रको अवलोकन गरेको छ । कार्यपालिकाको निर्वाचनका कारण सोमबार अवलोकन स्थगित गरेको सो टोलीले बुधबार टीकापुर नगरपालिकाका दौलतपुर, कर्णाली सामुदायिक वन, नजिक हुलाकी मार्ग नजिक कर्णाली क्षेत्र र वनगाउँ क्षेत्र अवलोकन गर्ने जनाएको छ ।

वर्षायाममा नदी कटान र नदीको जलस्तर बढेसँगै जानकी र टीकापुरका विभिन्न क्षेत्र डुबानमा पर्ने गरेको यस क्षेत्रका लागि बजेट अभावका कारण तटबन्ध गर्न नसकिएको आयोजना प्रमुखले उपप्रमुख शाहलाई जानकारी गराएका छन् ।

पूर्वी खैरीफाँटा क्षेत्रमा रहेको जमराको मुहान क्षेत्रमा करिब १५ सय मिटर तटबन्ध गर्नुपर्ने र त्यसका लागि करिब २५ करोड रुपैयाँ लाग्ने स्टेटमेट तयार गरेपनि बजेट नभएपछि त्यो रोकिएको उनले बताए । त्यसक्षेत्रमा नदी कटाभन्दापनि पानी ओभरफुल भएपछि माथि आएर जानकी गाउँपालिका विभिन्न क्षेत्र डुबानमा पर्ने र नहरमा समेत पानीको बहाव बढ्ने भएकाले टीकापुर क्षेत्रमा बाढी आउने गरेको उनले बताए ।

यस्तै कैलाशेश्वर क्षेत्र मालझुल र रानीकुलाको मुहान क्षेत्र रहेको कर्णाली किनारमा विभिन्न ठाउँमा उचा तटबन्ध गर्दा पानी रोक्न सकिने भएपनि बजेट अभावका कारण यसवर्ष त्यो हुन नसकेको आयोजना प्रमुख श्रेष्ठले बताए । उनले रानी कुलोको मुखमा पानी रोक्नलाई ढोका सहितको व्यवस्थापन गर्न सकेमा नहरमा पानीको वहाव नबढ्ने बताए ।
तर, अन्य कुनै बिकल्प सफल नभएपछि सनकट्टी घाट नजिक मुलपानी क्षेत्रको कर्णाली किनारमा परम्परागत रुपको तटबन्ध गर्न लागिएको बताए । ठूला ढुंगाहरु तटबन्ध क्षेत्रदेखि किनारमा पानीको सतहसम्म राखेर नै पानीको तेज वहाव र यसबाट हुने कटान रोक्न सकिने अन्तिम उपाय रहेको टोलीलाई आयोजना प्रमुख श्रेष्ठले जानकारी गराए । मुलपानी क्षेत्रमा राजेन्द्र निर्माण सेवाले परम्परागत तटबन्धको काम गरिरहेको छ ।

हामीलाई आफ्नो नजिक मात्र हेर्न मन लाग्छ तर यसको सही निराकरणका लागि माथिबाटै उचित र उपयुक्त तटबन्धको ब्यवस्था नगरी नहुने आयोजना प्रमुख श्रेष्ठको भनाई छ तर, त्यसका लागि बजेटको ब्यवस्था भए अर्को वर्ष सबै काम गर्न सकिने उनले बताए ।

अवलोकनपछि नगर उपप्रमुख शाहले उर्जामन्त्री माननीय पम्फा भुसाललाई यसको प्रत्यष अवलोकन गराई समाधान निकालिने बताएका छन् । उनले कार्यपालिकाको निर्वाचन लगतै मन्त्रीलाई टीकापुर ल्याएर समस्याको जानकारी गराइने बताए । जानकी र टीकापुर क्षेत्र मात्र होइन बर्दिया क्षेत्र पनि सुरक्षित हुने र कर्णाली नदी पनि सहज रुपले बग्न सक्ने योजना नभएसम्म नहुने भन्दै यसको यथार्थ जानकारी र समाधानका उपायको पनि मन्त्रीलाई जानकारी गराई ठोस समाधान निकालिने बताए ।

उक्त टोलीमा वडा नं ७ र ८ का वडाध्यक्षद्वय यज्ञप्रसाद न्यौपाने, दीर्घबहादुर ठकुल्ला बाढीपिडीत संघर्ष समितिका संयोजक धनसिंह साउँद, सञ्चारकमी दुर्गाप्रसाद भण्डारी समेतको सहभागिता रहेको थियो ।
