Loading

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना प्रतिस्पर्धीलाई पेल्ने नीति लिएका छन् । उनले यो नीतिको शुरुवात पार्टीमा नेताहरुको बरियता तोकेर देखाएका छन् ।

पार्टीको हालै सम्पन्न १४ औं महाधिवेशनमा आफूसँग हारेका पहिलो प्रतिस्पर्धी डा. शेखर कोइरालालाई २०औँ नम्बर बरियतामा राखेर जगजाहेर गरेका हुन् । उनले शेखरलाई राप्रपाबाट आएका केन्द्रीय सदस्य सुनिल थापाभन्दा पछि राखेका छन् ।

यसअघि सभापतिमा हार्ने उम्मेदवारलाई दोस्रो वा तेस्रो बरियतामा राखिने गरेपनि देउवाले त्यो प्रचलनलाई तोड्दै २० औं नम्बरमा पुर्याएका हुन् र पार्टीभित्र र बाहिर यस्को तिव्र आलोचना भइरहेको छ । कम्युनिष्ठको सरकार आएमा बोल्न पनि पाइदैन भनेर कराउन नथाक्ने सभापति देउवाले पार्टीभित्र विरोधीलाई पेल्ने नीति लिएर आफै उदांगो भएका छन् ।

यसअघि १०औँ महाधिवेशनमा सभापतिमा हारेका देउवालाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले तेस्रो बरियता दिएका थिए।

कांग्रेस फुटेपछि भएको ११औँ महाधिवेशनमा हारेका देउवालाई त्यसबेला दोस्रो वरीयता दिइएको थियो। त्यस्तै १२ औँ महाधिवेशनमा सुशील कोइरालासँग हार्दा पनि देउवाले दोस्रो वरीयता पाएका थिए। १३ औँ महाधिवेशनमा सभापति भएका देउवाले आफूसँग हारेका रामचन्द्र पौडेललाई दोस्रो वरीयता दिएका थिए। शेखर १३ औँ महाधिवेशनमा लोकप्रिय मतसहित विजयी हुँदा पनि उनलाई देउवाले ३६ औँ वरीयता दिएका थिए।

चौधौँ महाधिवेशनमा कोइरालाले सभापति पदका लागि ४० प्रतिशत मत ल्याएका थिए। तर देउवाले उनलाई वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीभन्दा पछि पारेका हुन्।