Loading

डीपी भण्डारी
धनगढी/नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले प्रदेश राजधानी धनगढीमा माओवादी केन्द्रका लागि ठाउँ अपुग भएको बताएका छन् ।
उनले पार्टीको सुदूरपश्चिम सममेलनको बन्द सत्रलाई सम्वोधन गर्दै सो कुरा बताएका हुन् । धनगढीमा शनिबारदेखि जारी प्रदेश सम्मेलनमा प्रदेशमा माओवादी केन्द्रको सांगठनिक अवस्था विषयमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
पहिले २०५२ सालमा सुदूरपश्चिममा माओवादी जम्मा पार्दा एउटा कोठा पनि भर्न मुश्किल पथ्र्यो, आज कम गर्ने क्रममा छान्दा छान्दा प्रदेशका प्रतिनिधिहरुलाई ठाउँ हुन गाह्रो भयो । बस्ने हल समेत धनगढीमा पाउन गाह्रो भयो ।
पार्टीको बैठक बस्दा एउटा कोठामा मात्र सिमित भएर कोठा नभरिने अवस्था थियो तर आजभने धनगढीमा भएका सबै सभाहलमा नभरिएर बाहिर बस्नुपर्ने अवस्था आएको छ । त्यसैले अब यो प्रदेश राजधानी धनगढीमा माओवादीका लागि कार्यकर्ताहरु अटाउने ठाउँको अभाव भएको छ ।
उनले लेखराज भट्ट, सहदेव बोगटी र झपट बोहराको नाम नलिएरै उनीहरुप्र्रति तिखो ब्यंग प्रहार गरेका छन् । केही राता कपाल र गोरा चिल्ला तथा अनुहारले यो पार्टी बनेको होइन । त्यसैले यस्लाई कसैले भत्काउन सक्दैन ।
विचार र पार्टीको नीतिलाई हेरेर जनता तथा कार्यकर्ताले विश्वास गरेर यो पार्टी बनेको हो । सुदूरपश्चिममा टाउको बाहिर गयो भनेर माओवादीहरु घटेको अनुमान लगाउनेहरुको अनुमान गलत सावित भएको छ इन्चाजै भट्टले भने ।
उनले जनताका हीतमा काम गर्ने पार्टी भएकोले अब माओवादीसँग कसैले तर्सिनु र डराउनु पर्ने नभएको बताए । पार्टीमा अब गुणात्मकता बढाउनुपर्ने आवश्कयता हरेक नेता तथा कार्यकर्तामा रहेको उनले बताए ।
बन्द सत्रमा पाँच सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलको अध्यक्षमा पार्टी प्रदेश सह इन्चार्ज लक्ष्मीदत्त जोशी, सदस्यहरु रेणु चन्द, फैयाज खान रहेका छन् । बन्द सत्रमा सुदूरपश्चिम प्रदेशमा कम्युनिष्ट आन्दोलनको विगतदेखि वर्तमान अवस्था विषयमा प्रदेश सह इन्चार्ज तारामान स्वाँरले प्रतिवेदन प्रस्तुत गरेका छन् ।
उक्त प्रतिवेदनमा छलफल गर्नका लागि प्रदेशका ९ वटै जिल्लाका अलगअलग ९ वटा समूहहरु बनाइएका छन् । समूहगत छलफल पछि छुटेका कुराहरु समावेश गरिने र अनावश्यक कुराहरु हटाइने प्रदेशका सह इन्चाजै रुपा थारुले बताइन् । बन्द सत्रले सोमबार नै प्रदेश समिति र महाधिवेशन प्रतिनिधि चयन गर्ने बताइएको छ ।