![]()
डीपी भण्डारी
धनगढी /नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको महाधिवेशन केवल पञ्चर्यालीजस्तो मात्र भएको टिप्पणी गरेका छन् ।
उनले पार्टीको प्रदेश सम्मेलनलाई सम्वोधन गर्ने क्रममा सो कुरा बताएका हुन् । उनले मार्क्सवादको ‘म’ र समाजवादको ‘स’ पनि उच्चारण भएन भन्दै एमालेमा अब विचारको शुन्यता भएको बताए ।
महाधिवेशनमा राजनीतिक दस्तावेज प्रस्तुन नहुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धामा बहश नहुने केवल नेतृत्वको भजनकिर्तन र पूजा गर्दै समाप्त हुने भएकोले त्यसलाई कम्युनिष्ट पार्टी भन्न पनि कठिन भएको बताए ।
यस्तै काँग्रेसको पनि विचार शुन्य नै छ । ‘पहिलो दिन उद्घाटन, दोस्रो दिन उम्मेदारी, तेस्रो दिन मतदान, चौथो दिन विजयी, महाधिवेशन समाप्त’ यही काँग्रेसको महाधिवेशन हुँदै आएको छ ।
उनीहरुका महाधिवेशन राजनीतिक विचारकेन्द्रित (मुद्धाकेन्द्रित) र समाजकेन्द्रित भएनन् त्यसैले आफूले नेपाली काँग्रेसको उद्घाटन सत्रमा उनीहरुलाई राजनीतिक विचार र समाजवादको विषयमा छलफल चलाउन सुझाव दिएको बताए ।
पुरानो विचारले राजनीति चल्दैन र राजनीति बिना देश चल्न सक्दैन त्यसैले पनि यतिबेला नयाँ युगसागै समय सुहाउँदो नयाँ विचार लिएर अगाडि जानुपर्छ । महाधिवेशन नै विचारको बहश गर्ने थलो हो त्यसैले राजनीतिक मुद्धाकेन्द्रित र समाजकेन्द्रित मुद्धा उठ्नुपर्छ र बहश चलाउनुपर्छ अध्यक्ष प्रचण्डले भने ।
तामझामले मात्र महाधिवेशन हुँदैन, हुने भए त पञ्च मण्डलेहरुले पनि ठूलाठूला भीडहरु जम्मा पारेर पञ्चेर्याली निकाल्थे । त्यसैले तामझाम भन्दापनि विचारकेन्द्रित सम्मेलन हुनु पर्दछ । गुणतत्व अर्थात क्रान्तिकारी विचार भएमा लाखौंलाई गोलवद्ध गर्न सकिन्छ ।
उनले मार्क्स, लेनिन र माओले छुटाएका कुराहरुको विश्लेषण गर्दै त्यस्लाई संश्लेषण गरेर जानुपर्ने आजको आवश्यकता भएको बताए । उनीहरुका वैज्ञानिक पक्ष सधैंका लागि ठीक भएपनि सामाजिक पक्ष समय अनुसार गतिशिल भएर परिवर्तन हुने भएकाले आजको समयमा ठीक नभएको बताए ।
त्यसकारण हामीले समय सुहाउँदो किसिमको सामाजिक पक्षलाई नयाँ ढंगले अंगीकरण गर्नुपर्ने हुन्छ । मैले यस विषयमा दस्तावेजलाई ट्रयाक खोलेको छु आगामी महाधिवेशनमा पुरा गरी पेश गर्ने तयारी भइरहेको छ ।
‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं’ भन्ने मूल नाराका साथ शुरु गरिएको ७ भौगोलिक र २ गैर भौगोलिक गरी ९ वटा प्रदेशको सम्मेलनलाई अध्यक्ष प्रचण्डले भर्चुअल विधिबाट सम्वोधन गरेका थिए ।
