Loading

डी भण्डारी
चितवन, २० मंसिर
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले माओवादीलाई दुई मिनेट मात्र सहयोग गर्नेहरुको भूमिकालाई बिर्सन नसकिने बताएका छन् ।
उनले प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न भएको चौथो राष्टिय महाधिवेशनको बन्द सत्रमा निर्वाचित केन्दीय सदस्य तथा अध्यक्षलाई शुभकामना दिँदै सो कुरा बताएका हुन् ।
इन्चार्ज दाहालले माओवादीले जनयुद्ध गरेको समयमा पत्रकारिता गर्नु कम्ती चुनौतिपूर्ण नभएको बताए । त्यस समयमा सबै सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण छ । त्यतिमात्र नभई सुरक्षाकर्मीबाट हामीलाई बचाएर दुई मिनेटको सहयोग गर्नेहरुको भूमिका पनि कम महत्वपूर्ण छैन ।
त्यसैले बन्दुक बोक्नेहरुजस्तै कलम बोक्नेहरुको पनि जनयुद्धमा ठूलो योगदान रहेको छ । कलमजिवीहरुले नै माओवादी आन्दोलन तत्कालीन सरकारका दमन, हत्या र हिंसाका कुराहरु जनता सामु र अन्तराष्टिय जगत सामु ल्याएको बताए ।
हामीले मात्र दम्भ गर्नुपर्ने कुरा छैन, दुई मिनेटको सहयोग नगरेको भए आज हामी पनि नरहन सक्थ्यौं । त्यही नै उहाँहरुको तर्फबाट क्रान्तिका लागि ठूलो सहयोग हो ।
पार्टीका नेता कार्यकर्तासँगै क्रान्तिकारी पत्रकारहरु, स्थानीय जनता सबैको सहयोगबाट मात्र नेकपा माओवादीले जनयुद्ध गर्न सफल भएको हो । त्यही जनयुद्धको परिणाम आज जनताद्रारा निर्मित संविधान छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ । महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी मुश्लिम, खस आर्य आदि सबैका अधिकारहरु संविधानमा सुरक्षित भएका छन् । राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व छ यो सबै माओवादी आन्दोलनको योगदान हो इन्चार्ज दाहालले भने ।
त्यसैले सबैको भूमिका छ, त्यसको कदर अवश्य हुन्छ र हुनुपर्छ ।
यस्तै खिलबहादुर भण्डारीले २८ वर्षअघि जनादेशको समाचारदाता भएर चितवनबाटै पत्रकारिता शुरु गरेर १८ वर्षअघि जनादेशको सम्पादकीय कक्षमा पुगेको बताए । उनले संकटकाल लागेसँगै जनादेश प्रकाशनमा प्रतिबन्ध लागेको र जनादेशको सम्पादकीय टीमलाई गिरफ्तार गरेर यातना दिएको कुरा बताए ।
आर्थिक कठिनाईका कारण कहिले केही नखाई पनि बस्नु परेको पनि सुनाउँदै अहिलेका जस्ता राम्रा हेटल तथा लजमा खाने र बस्न सकिने सहज दिन नभएको बताए । उनले सादा पोशाकमा आएका सुरक्षाकर्मीले सम्पादकीय टीमका साथीहरु गिरफ्तार गरेपछि आपूm मात्र छुटेको भन्दै आफै गिरफ्तारी दिएको बताए ।
यस्तै संगठनका निवर्तमान उपाध्यक्ष गोविन्द रोका सचिनले प्रेस सेन्टरको स्थापना गर्दा अखिल नेपाल क्रान्तिकारी संघबाट शुरु गरेको बताए । त्यसबेला पहाडका गुफामा लुकेर रेडियो पत्रकारिताका गर्नु परेको र छापा पत्रकारिताका लागि भारतका विभिन्न ठाउँमा भएर महेश्वर दाहालको टिमले पत्रपत्रिका प्रशकाशन गरेर जनतालाई सूसुचित गरेको कुराहरु बताए ।
यस्तै संगठनकी निवर्तमान उपाध्यक्ष लक्ष्मी पुनले दुधे बालक काखमा बोकेर जनयुद्धकालीन समयमा गर्नुपरेको पत्रकारिताको पीडा सुनाइन् । हिउँबाट पानी बनाएर गुफाहरुमा बसेर पत्रकारिता गर्नु कम्ती चुनौतिपूर्ण नरहेको बताइन् ।