Loading

दिल्ली क्यापिटल्स पुनः इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति दुबईमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

५ खेलमा ४ जित निकालेको दिल्ली ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका मुम्बई इन्डियन्स र बैंग्लोकार समान ६ अंक छ।

सुरुवाती दुवै खेल जितेको दिल्ली तेस्रो खेलमा सनराइजर्स हैदरावादसँग १५ रनले पराजित भएको थियो । दिल्लीले किंग्स इलावेन पञ्जावलाई सुपर ओभरमा र चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको थियो भने कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको थियो।

पहिला ब्याटिङ गर्दै दिल्लीले दिएको १९७ पछ्याएको बैंग्लोरले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १३७ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। उनले ३९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

यस्तै, वासिङ्टन सुन्दरले १७, अरोन फिन्चले १३ र नवदीप सैनीले १३ रनको योगदान दिए । बैंग्लोर सस्तैमा रोक्ने क्रममा दिल्लीका अक्षर पटेल र कागिसो रबाडाले उत्कृष्ट बलिङ गरे । पेटेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने रबाडाले २४ रन खर्चेर ४ विकेट लिए । पटेल प्लेयर अफ दी म्याच भए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो । उसका लागि अलराउन्डर मार्कस स्टोइनिसले नटआउट सर्वाधिक ५३ रन बनाए । उनले २६ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

यस्तै ओपनर पृथ्वी शले २३ बलमा ४२, शिखर धवनले २८ बलमा ३२ र ऋषव पन्तले २५ बलमा ३७ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए।

आईपिएलमा आज मुबई इन्डिन्यस र राजस्थान रोयल्स भिड्ने छन् । खेल अबुधाविमा साँझ ७ः४५मा हुने छ।