Loading

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन् । मुकुन्द न्यौपाने भने नेपाल र खनालपछि तेस्रो वरियतामा रहेका छन् ।

त्यसैगरी सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राई रहेका छन् । महासचिवमा डा.बेदुराम भुसाल छन् भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल छन् ।

त्यसैगरी चार जनाले सचिवको जिम्मेवारी पाएका छन् । जसमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री छन् । पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ भने ३५ सदस्यीय स्थायी कमिटी सो पार्टीले बनाएको छ । त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको सो पार्टीले जनाएको छ ।

यसैवीच सुदूरपश्चिम प्रदेश समिति सदस्य तथा युवा नेता शंकर भण्डारीले पदाधकिारी गठनप्रति तिव्र विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन् सुदूरपश्चिममा रहेका नेताभन्दा जुनियरहरु पदाधिकारी बनेका छन्, सुदूरपश्चिम प्रदेशमा पहिलो पार्टी रहेको भएपनि त्यसलाई उपेक्षा गरिएकोले विधि विधानका कुरा केवल नाम मात्रको भएको बताएका छन् ।

सुदूरपश्चिमलाई सम्बोधन नगरिए विद्रोह गरिने चेतावनी दिँदै उनले ४० वर्ष मुनिका युवालाई मौका दिने भनिएपनि नदिएको बताएका छन् ।