![]()
काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । स्वकीय सचिव दिपक टमाटाले गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको जानकारी दिए ।
गौतमले एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दै आएका थिए । उनले बुझाएको राजीनमा पत्रमा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।
राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
गौतम नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए ।
२०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् । उनी राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छन् । तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान सुरु गरेका थिए ।
नेकपा विभाजन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र पुनर्स्थापना भएपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल दुवै पक्षतर्फ छलफल चलाइरहेका गौतम पार्टी विभाजनपछि नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाने चर्चा थियो ।
तर पछि जनताको बहुदलीय जनवाद (जबजं) नमानेको भन्दै गौतमले नेकपा समाजवादीमा पनि नजाने बताएका छन् । गौतम निकट नेताहरु यसअघि नै माधव नेपालको पार्टीमा गइसकेका छन् ।
