Loading

काठमाडाैं । नेकपा एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

मंगलवार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तय गरेको हो । मंसिर १०, ११ र १२ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यसअघि विधान अधिवेशन असोज ४, ५ र ६ गते हुनेछ । बैठकले सबै नेताहरूलाई २०७५ जेठ २ कै जिम्मेवारीमा क्रियाशील हुन निर्देशन पनि दिएको छ । पार्टीका सबै पदाधिकारीलाई काममा फर्किन निर्देशन दिने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए ।

‘सबै तहका पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने,’ प्रवक्ता ज्ञवाली भने, ‘१० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटीमा प्रेषित गर्ने निर्णय भएको छ ।’ बैठकमा पार्टी विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरू समेत सहभागी थिए ।