![]()
काठमाडौं । नेकपा (एमाले) विभाजनपछि दुवै समूहमा नलागेका नेताहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षले १४ जना सांसदमाथि गरेको कारबाही खारेज हुनुपर्ने निर्णय गरेको छ ।
बैठकपछि नेता भीम रावलले उक्त जानकारी दिएका हुन् । बैठकले ओलीलाई १० बुँदे सहमति अक्षरश: लागू गर्न र नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नयाँ दल दर्ता प्रक्रिया रोक्न अनुरोध गर्ने निर्णयसमेत गरेको उनले बताए ।
नेता रावलले दल विभाजनसम्बन्धी अध्यादेश खारेज हुनुपर्ने बैठकको निर्णय सुनाए । ‘अहिले २० प्रतिशत भएमा दल विभाजन हुनेगरी ल्याएको अध्यादेश खारेज हुनुपर्छ । यसअघि सबै दलसँग सहमति गरेर ४० प्रतिशतको प्रावधान राखिएको थियो,’ उनले भने ।
बैठकले पार्टीका नेता र कार्यकर्ताहरुबीच एकले अर्कालाई असभ्य र अशिष्ट शब्दको प्रयोग गर्ने क्रम देखिएकाले त्यसलाई अबिलम्ब रोक्न पहल गर्नुपर्ने र त्यसका लागि दुवैपक्षको ध्यानाकर्षण गराउनुपर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । आजको बैठकमा ५७ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ ।
दुवैपक्षमा नलागेकाहरुको बैठक निरन्तर हुने रावलले जानकारी दिए। बैठकको निर्णयबारे केहीबेरमा लिखित धारणा पनि सार्वजनिक गर्ने बताइएको छ ।
