![]()
काठमाडौं । कुलप्रसाद के.सी.को जन्म बुवा टिकाराम के.सी. र आमा रजमताको कोखबाट २०२७ सालमा रोल्पाको कोटगाउँ २, जिबाङमा भएको हो । कुल प्रसाद केसी ६ भाईमध्ये कान्छो हुन् । उनले सदरमुकाम लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेका थिए भने थप अध्ययन दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट गरे ।
के.सी.ले २०४३ सालबाट राजनीति सुरु गरेका हुन् । केसी २०४३ सालबाट विद्यार्थी राजनीतिमा सक्रिय भए । २०४६ देखि २०४७ सम्म पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिवको जिम्मेवारीको रुपमा काम गरे । के.सी.ले २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरे । २०४८ मा तत्कालीन एकता केन्द्र पार्टीले एरिया सेक्रेटरीको जिम्मेवारी दियो ।
२०४८ सालदेखि २०५० सालसम्म उनी शिक्षक पेशामा आवद्ध थिए । र, २०५० सालमा विभिन्न राजनीति मुद्दाहरु लगाएपछि उनी शिक्षण पेशा छोडेर पार्टीको काममा सक्रिय भएर काम गर्न थाले । २०५२ सालमा पार्टीका दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला समिति सदस्यमा चयन भएपछि के.सी. पार्टीको पूर्णकालीन सदस्य भएर पार्टीको काममा खट्न थाले ।
तत्कालीन माओवादीले होलेरी आक्रमण गर्दा उक्त मोर्चामा के.सी. पनि सहभागी भए । २०५५ सालमा पार्टीले के.सी.लाई दाङ–सल्यान–प्यूठान संयुक्त जिल्लाको सेक्रेटरीको भूमिका दियो । त्यसपश्चात उनी २०५६ सालमा भेरी–कर्णाली शैन्य कमिसार हुँदै २०५७ सालमा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।
२०६० सालमा पार्टीको बैठकको लागि भारत जाँदा के.सी. भारतीय भूमि पटनाबाट गिरफ्तार भए । उनलाई २०६० जेठ २० देखि २०६३ श्रावणसम्म भारतको बक्सर जेल चलान गरियो । उनीसँगै माओवादीका अन्य नेताहरु पनि पक्राउ परेका थिए । यसैक्रममा उनीसहित माओवादीका नेताहरुले त्यहाँको जेलजीवनको कठोर यातना सहे ।
२०६३ सालमा जेलमुक्त भएपछि के.सी. पार्टीको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार भए । साथै उनी नारायणी–भेरी –कर्णाली–सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारी समेत सम्हाले ।
शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनको क्रममा पार्टीले उनलाई वाइसिएलको इन्चार्जको जिम्मेवारी दियो । २०५९ सालमा, एकीकृत माओवादीको पोलिटव्यूरो सदस्य चुनिए तर पार्टी विभाजन भएपछि वैद्य समूहमा आवद्ध भए । र,पार्टीमा स्थायी समितिमा रहेर काम गरे । फलस्वरुप २०७३ सालमा माओवादी केन्द्र गठन हुँदा केन्द्रीय कार्यालय सदस्य भए । त्यसपश्चात २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनलाई पार्टीले रोल्पा जिल्ला निर्वाचन क्षेत्र नं. १ (क) बाट उम्मेदवार बनायो । र, उनी निर्वाचित भए ।
माओवादी केन्द्रबाट निर्वाचित भएपछि उनको संसदीय यात्रा सुरु भयो । उनी पार्टीको तर्फबाट तत्कालीन ५ नं प्रदेशको संसदीय दलको नेता चयन भए । र, एमालेसँग संयुक्त सरकार गठन हुँदा आन्तरिक मामिला तथा कानून मन्त्री भए । पछि एमाले र माओवादी केन्द्रको एकीकरणपश्चात नेकपा गठन हुँदा लुम्बिनी प्रदेशको सह–इन्चार्ज तथा संसदीय दलको उपनेता भए । तर,सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा आएपछि के.सी. पुनः पार्टीको संसदीय दलका रुपमा मुख्यमन्त्रीको पदमा नियुक्त भएका हुन् ।
केसीकी श्रीमती तारा घर्ती मगर हुन् उनी माओवादीकी केन्द्रीय सदस्य हुन । उनका एक छोरा र एक छोरी छन् ।
झिल्को डटकमबाट साभार
