![]()
काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।
पछिल्लो दिनमा संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ ।
मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमति पुनर्विचार गर्न आग्रह गरेको थियो ।
कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने भनिएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । सीसीएमसीले शिक्षा मन्त्रालय पत्र पठाएको छ भने मन्त्रालयले परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार ४ बजे नै बैठक राखेर निर्णय गर्न निर्देशन दिएको थियो । तर परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने भोलि शनिबार ११ बजे बैठक राखेका छन् । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अहिले भौतिक रुपमा परीक्षा गर्न सक्ने अवस्था नभएकाले अहिले निर्णय पुनर्विचार गर्नु भनेका छौं।’ परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षाका लागि ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् ।
यही साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने सरकारी तयारी भएपनि संक्रमणको भयावह अबस्था बन्दै गएको भन्दै स्थगित गर्न चौतर्फी दवाब बढ्दै गएको थियो । तर राष्ट्रिय परीक्षा बोर्डले सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने बताउँदै आएको थियो ।
