Loading

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उानले सो कुरा बताएका हुन् ।

उनले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताए। पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो ।

जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका जनताका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेशका मुद्दा र अधिकारका लागि जनताको साथ लिएर अघि बढ्ने बताए ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ ठाकुर पक्ष संकटमा परेको छ ।

ठाकुरपक्षमा १६ जना कार्यकारिणी सदस्य मात्रै रहेपछि ३४ सदस्य भएको यादव पक्षले जसपाको आधिकारिकता पाएकोमा ठाकुर पक्ष अब दल विभाजन नभई नयाँ दल दर्ताको प्रक्रियामा जानुपर्ने भएको हो । ठाकुर पक्ष नयाँ दल दर्ताको प्रक्रियामा गएपछि सो पक्षमा रहेका सांसदको पद पनि धरापमा पर्ने देखिएको छ । तर, आयोगले सोमबारको आफ्नो फैसलामा सोबारेमा केही खुलाएको छैन ।

‘महन्थजीहरूले आयोगमा ४० प्रतिशत सदस्य आफ्नोतर्फ देखाउन सक्नुभएन, त्यसकारण उहाँहरू अब दल विभाजनको प्रक्रियामा जान सक्नुहुन्न, उहाँहरूले नयाँ दल दर्ता गर्नैपर्छ, यसो हुँदा सो समूहमा रहेका सांसदहरूको पद जोगाउन सक्ने अवस्था रहँदैन,’ निर्वाचन आयोग उच्च स्रोतले भन्यो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ मा दल विभाजन हुन कम्तीमा केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत हिस्सा अर्को दलमा आबद्ध हुनुपर्ने भनिएको छ । ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्याउन सकेन ।

अब ठाकुर पक्षका सांसदहरूको पदसम्बन्धी विषय कि त संसद् सचिवालयबाट टुंगो लाग्नेछ भने कि त सो मुद्दा सर्वोच्च अदालतसम्म पुग्न सक्छ । ठाकुर पक्षले कानुनबमोजिम नयाँ पार्टी दर्ता गरे पनि यादव पक्षले सो दलमा जाने सांसदहरूलाई कारबाही गर्दै पद मुक्त गर्न सक्छ ।