Loading

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नका लागि निवेदन दिएका छन् । देउवाका लागि प्रतिनिधि सभाबाट विश्वासको मत हासिल गर्न १३६ मत आवश्यक छ।

कुल २७५ संसद संख्या मध्ये चार संख्या रिक्त छ । चार जना सांसद निलम्बित छन् । त्यसैले संसदको गणना हुने संख्या २७१ हो ।

नेपाली कांग्रेसको ६३ सांसदमध्ये ६१ ले देउवालाई मत दिन पाउँछन्। विजयकुमार गच्छदार निलम्बित छन्। त्यस्तै मोहम्मद अफताफ आलम जेलमा छन्।

नेकपा माओवादी केन्द्रका ४८ सांसदको समर्थन देउवालाई हुनेछ। विगतमा ५३ सांसद भए पनि लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह सांसद छैनन्। त्यस्तै सभामुख अग्नि सापकोटाले बराबर भएको अवस्थामा मत दिन पाउने छन्। तर स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामा पछिल्लो समय माओवादीनिकट छन्। उनले पनि देउवालाई मत दिन सक्नेछन्।

जनता समाजवादी पार्टीको ३४ सांसदमध्ये उपेन्द्र यादव पक्षमा १७ सांसद पुगेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा रिट दायर गर्ने बेला यादव पक्षका सांसद १२ जनाले मात्र हस्ताक्षर गरेका थिए। तर ओली सरकारको विस्थापनसँगै उपेन्द्र यादवको पक्षमा १७ सांसद पुगेका छन्। राष्ट्रिय जनमोर्चाको एक मात्र सांसद दुर्गा पौडेलले पनि देउवालाई मत दिनेछन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सांसदको संख्या जोड्दा देउवाको पक्षमा १ सय २७ सांसद पुग्छन्। स्वतन्त्र सांसद लामाको मत जोड्दा १२८ हुन्छ। यस्तो अवस्थामा माधव नेपाल पक्षका ८ सांसद भए देउवालाई बहुमत पुग्नेछ।

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको हो ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यव्यवस्था समितिको बैठकमा लिएर जाने बालुवाटार स्रोतको भनाई छ ।

बैठकले प्रस्तावलाई बैठकमा टेबुल गर्ने निर्णय गरे आज नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् । केही बेरमा कार्यव्यवस्था समितिको बैठक बस्दै छ ।