![]()
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणत्मक खेल स्पेनमा हुने निश्चित भएको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका हुन् ।
‘जुलाई तेस्रो साता स्पेनमा हुने टुङ्गो लागेको छ । त्यहाँको स्थानीय सरकारबाट मात्र स्वीकृति लिन बाँकी छ । खेल हुने निश्चित छ । क्वारेनटाइनको समय, खेलाडी संख्या, उडान तालिका, खेल तालिका, भिषा प्रकृया र तयारी कहाँ हुने भन्ने मात्र बाँकी छ । भोली सम्म सबै कुराको टुङ्गो लाग्छ’, चन्दले भने ।
उक्त सिरिज हुन अब डेढ महिना बाँकी छ । तर नेपालले तयारी कहाँ गर्ने भन्ने मुख्य समस्या छ । नेपालमा दोस्रो चरणको कोरोना महामारीका कारण लकडाउनका कारण सहज देखिदैन ।
आइसिसी विश्वकप लिग–२ एकदिवसिय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरी सम्म चल्ने छ । सहभागि सबै टोलीले होम अबे त्रिकोणात्मक सिरिज खेल्ने छन् ।
एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । शीर्ष तीन टोली २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् । पुछारका चार टोलीले क्वालिफायर खेल्नुपर्ने हुन्छ । क्वालिफायरमा शीर्ष दुईमा पर्न सके ग्लोबल छनोट खेल्ने अवसर मिल्नेछ ।
सन २०१९ देखि सुरु भएको आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले एक मात्र त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले गत वर्ष माघमा घरेलु मैदानमा ओमान र अमेरिकासँग खेलेको थियो । जसमा ओमानसँग दुई खेलमा पराजित हुँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो ।
नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण क्रिकेट गतिविधि ठप्प छ ।
पछिल्लो पटक नेपालले बैशाखमा घरेलु मैदान टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टि२० सिरिजमा सानदार प्रदर्शनकासाथ उपाधि जितेको थियो ।
श्रीलंका फर्किसकेका प्रशिक्षक डेभ ह्वाटमोर स्पेनमा उक्त सिरिज हुने भएसँगै नेपाल फर्कने छन् । ह्वाटमोरको आगमनसँगै नेपाली क्रिकेटको ब्याटिङमा सुधार हुने विश्वास गरिएको छ ।
