Loading

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने एक हप्ताको अवधि थपेर १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बस्नु अघि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको अवधि तोकेर बिहीवारदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पुर्‍याएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्यस्तै सरकारले सबै परीक्षाहरु स्थगित गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयलाई पारित गरेको छ ।

त्यस्तै सरकारले अर्को निर्णय नभएसम्मका लागि देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय पनि गरेको छ । पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा बढी सङ्क्रमित थपिनासाथ निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई पनि मन्त्रिपरिषद् बैठकले सदर गरेको छ ।