![]()
चितवन/चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सीमा सर्वसाधारणले नाम लेखाउन पाउने भएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको सो रंगशालाको कुर्सीमा नाम लेखाउन सहयोगस्वरुप एक लाख रुपैयाँ भने तिर्नुपर्ने हुन्छ ।
फाउन्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरुवात गरेको जानकारी दिँदै एक लाख रुपैयाँ सहयोग गरी आफ्नो र आफ्नो परिवारका नाममा रंगशालाको प्याराफिटमा कुर्सी राख्न पाउने जानकारी दिएको हो । अभियानबारे एक महिनाभित्र मोबाइल एप्स, फेसबुक र विभिन्न सञ्चारमाध्यमबाट विस्तृत जानकारी दिइने फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका अनुसार रंगशालामा सात प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरी सिट विभाजन गरिनेछ। अभियानमा जोडिने दाताले आफ्नो जिल्लाअन्तर्गतको सिट लिन सक्ने व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ ।
हालसम्म ३२ करोड संकलन, ४३ करोड खर्च
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका निर्माणका लागि हालसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ ८० पैसा संकलन भएको छ। त्यस्तै हालसम्म संकलित रकमभन्दा बढी अर्थात् ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ २३ पैसा खर्च भएको छ।

यस हिसाबअनुसार उक्त परियोजना ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ४३ पैसाले ऋणात्मक रहेको छ। सोही कारण अपेक्षित रुपमा काम अघि बढाउन अप्ठ्यारो परेको फाउन्डेसनले जनाएको छ। परियोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० आइसकेपछि कुल लागत ३ अर्ब ५५ करोड पुगेको छ।
हालसम्म परियोजना निर्माणको कुल लागत रकमको ९।१० प्रतिशत मात्र रकम संकलन भएको छ। यो अवधिमा मुख्य क्रिकेट खेल्न मैदानको काम ८५ प्रतिशत सम्पन्न भइसकेको र प्याराफिटअन्तर्गतको काम करिब ३० प्रतिशत सम्पन्न भएको फाउन्डेसनको भनाइ छ।
