Loading

काठमाडौं/राष्ट्रिय समाचार समितिको ६० औँ वार्षिकोत्सवका अवसरमा वर्षभर उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन् । रासस केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ र सञ्चार मन्त्रालयका सचिव बस्यालले ती पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ सम्पादक श्रीमती मोहिनी मिश्र रिसाल (केन्द्रीय कार्यालय) र उपसमाचारदाता वीरेन्द्रनारायण कर्ण (रासस वीरगञ्ज कार्यालय प्रमुख)ले प्राप्त गर्नुभयो । पुरस्कारको राशि जनही रु १० हजार छ । त्यसैगरी महासङ्घले मनीन्द्रलाल श्रेष्ठ (राससका पूर्व कर्मचारी) र शरच्चन्द्र भण्डारी (उपप्रमुख समाचारदाता, रासस केन्द्रीय कार्यालय) लाई विशेष सम्मान गरेको छ ।

यस वर्षको ‘उमाकान्त-गीतादेवी-चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ स्थानीय समाचारदाता (स्ट्रिङ्गर) रवीन्द्र काफ्ले (पाँचथर) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु सात हजार ५०० छ । सो पुरस्कार रासस कार्यालय तुल्सीपुर, दाङका प्रमुख नारायणी रजौरेले आफ्ना मातापिता र भाइका स्मृतिमा स्थापना गर्नुभएको हो ।

रासस कर्मचारी सङ्घले स्थापना गरेको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा (रासस प्रदेश नं २ कार्यालय, जनकपुर) र कार्यालय सहयोगी खिलप्रसाद दाहाल (रासस केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार छ । 

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ दीपराज सन्याल (अङ्ग्रेजी समाचार प्रमुख) र राजेशकुमार श्रेष्ठ (उपव्यवस्थापक, लेखा शाखा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ ।

कोभिड–१९ जोखिममा योगदान गर्ने पत्रकार पुरस्कृत

राससले कोभिड–१९ सङ्क्रमणका समयमा जोखिम मोलेर काम गर्ने कर्मचारी एवं पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । रासस हीरक वर्ष प्रवेशका अवसरमा केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ र मन्त्रालयका सचिव बस्यालले राससकर्मी रोशन सापकोटा (काठमाडौँ) र चन्द्रकला क्षेत्री (काठमाडौं) लाई पुरस्कार प्रदान गर्नुभयो ।

सोही पुरस्कार रासस फोटो पत्रकार राधिका कँडेल (पोखरा), भद्रपुर कार्यालय प्रमुख चन्द्रकला भण्डारी (झापा), हरिकुमार राई (उदयपुर) र तारानाथ आचार्य (बलेवा, बागलुङ) पनि प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार छ । प्रदेश नं १ बाट केदार मगर (खोटाङ), प्रदेश नंं २ बाट गोपालप्रसाद बराल (महोत्तरी) र वाग्मती प्रदेशबाट अच्युत रेग्मी (केन्द्रीय कार्यालय, काठमाडौँ) लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ ।

त्यसैगरी गण्डकी प्रदेशबाट कृष्ण दवाडी (कास्की) र खेमराज गौतम (गलकोट, बागलुङ), प्रदेश नं ५ बाट भेषराज बस्नेत (राँझा, बाँके) र दीपक बोहरा (तुलसीपुर, दाङ) लाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार छ । कर्णाली प्रदेशबाट दाने बोहरा (सिमकोट, हुम्ला) र सुदूरपश्चिम प्रदेशबाट दुर्गा देवकोटा (टीकापुर, कैलाली) लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ । य

यस वर्षको उत्कृष्ट आलेख समाचारमा विजय रावत (खलङ्गा, जुम्ला, शीर्षक : ‘जुम्लामा कालीमार्सी धान रोपाइँको चटारो’) लाई प्रदान गरिएको छ । तस्वीर विधातर्फ फोटो पत्रकार प्रदीपराज वन्त (काठमाडौँ) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ । राससको भौतिक सम्पत्तिको संरक्षण तथा विकास एवं विस्तारमा उल्लेखनीय योगदान दिने रासस कार्यालय भीमदत्तनगर, कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहलाई सम्मान प्रदान गरिएको छ ।

उमेर हदका कारण सेवाविवृत्त कर्मचारी जगतकृष्ण श्रेष्ठ (अधिकृतस्तर तह–७, सहव्यवस्थापक), रमेशकुमार मिश्र (अधिकृतस्तर तह–६, उपव्यवस्थापक) र केशव खत्री (सवारी चालक) लाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरियो ।