Loading

प्रकाश अधिकारी

काठमाडौं । प्रधानमन्त्री केपी ओली समूहमा पद बाँडफाँड र वरियताको विवाद सुरु भएको छ । ओली समूहमा पूर्व माओवादी खेमाको नेतृत्व गरेका वादललाई ईश्वर पोखरेलभन्दा वरियतामा माथि राख्ने बचन दिए पनि ओलीले कार्यान्वयन नगरेपछि वादलले धोका पाएको महसुस गरेका छन् । आफ्नो पक्षमा खुलेर लागेका ४० जना केन्द्रीय सदस्यका समेत कुरा नसुनेर केपीको भर पर्दा यतिवेला वादल घर न घाटको अवस्थामा पुगेको उनी निकट स्रोतले बतायो ।

स्रोतले भन्यो, वादललाई सहअध्यक्ष र सरकारको उपप्रधानमन्त्री दिने बचन ओलीले दिएका थिए । केपीले यसमा आनाकानी गरेपछि वादलले आफ्नो पक्षको कोटामा पाएको तीन सय केन्द्रीय सदस्य दिएका छैनन् । मन्त्री भएपछि केपीको गुटमा खुलेर लागेका लेखराज भट्टले सुदूर पश्चिमका दुई चार जनालाई आयोजक समितिमा पठाए पनि वादलले एकीकृत प्रदेश सदस्यलाई स्वतः आयोजक समितिमा लगे वाहेक औपचारिक रुपमा साविक माओवादीको कोटाबाट लिस्ट बुझाएका छैनन् । वादललाई ढाल बनाएर ओली क्याम्पमा मन्त्री बनेका छेपारो जस्तै रंग फेरिरहन जान्ने टोपबहादुर रायमाझी र प्रभु साह वादलको असन्तुस्टिबाट झस्किएका छन् ।

केपी समूहमा लागेर वाहिर कस्सिएर बोले पनि वादलले फेरि प्रचण्ड माधवले नेतृत्व गरेको पार्टीमा फर्कने हो भने ओली समूहको राजनीति र चरित्रका अगाडि टिक्न नसक्ने उनीहरुको बुझाइ रहेको छ । यसै कारण उनीहरुले वादलभन्दा अगाडि उछिनेर आफूहरु कुनै पनि बेलामा फर्कन सक्ने भन्दै आफ्ना निकट मार्फत प्रचण्ड निवास खुमल्टारमा सन्देश पठाएका छन् । संसदलाई सर्वापरी मान्ने, साम, दाम दण्ड, भेद लगाएर पनि सांसद हुनुपर्छ भन्ने सोंच राख्ने रायमाझी र साहले ओली समूहमा बसिरहँदा चुनावमा नराम्रँेसँग हार्ने आँकलन गरेर पनि फर्कन चाहेका हुन । प्रचण्डले एक आमसभामा दुई जना मन्त्री आफ्नो तर्फबाट आउन थालेको बताएपछि उनीहरु झस्किए । त्यसपछि उनीहरु केपीको साखुल्ले बन्न प्रचण्डलाई सार्वजनिक रुपमा गाली गरिरहेका छन् ।

तुरुन्तै उप प्रधानमन्त्री र सहअध्यक्ष नबनाउने हो भने वादलले केपीलाई साथ नदिने संकेत देखाइसकेका छन् । युवा संघको केही दिन अगाडिको भेलामा गृहमन्त्री वादलको सचिवालयमा बसेका विरु तामांगले नै खुलेर विद्रोह गरेका छन् । प्रेस संगठन लगायतको पुनर्गठनमा पनि वादल समूहलाई उपेक्षा गरिएको छ ।

एकदमै कम संख्यामा पूर्व माओवादीबाट ओली समूहलाई समर्थन गरेका जनसंगठनका अधिकांश व्यक्तिहरु ओली समूहको हेपाहा र मिचाहा प्रवृत्तिका कारण प्रचण्ड माधवले नेतृत्व गरेको मूल पार्टीमा फर्कने भन्दै वार्ता गरिरहेका छन् । खासगरी वादलको असन्तुस्टिले पनि त्यसमा प्रभाव पारेको देखिन्छ । पुरानो घर गुल्मी भएका वादललाई बुटवलको आमसभामा नलैजानुको अर्थ पनि अहिले बुटवलमा वादलको असन्तुस्टिको रुपमा हेरिएको छ ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई पटकपटक धोका दिने केपी ओलीले वादललाई दिएको बचन पूरा गर्ने विश्वास वादलले गर्नु नै उनको राजनीतिक अदूरदर्शिता देखिन्छ । अहिले केही समय वादललाई गृहमन्त्रीको जागिर त ठीकै होला तर उनको राजनीतिक जीवन चाहिं जति दिन केपीको क्याम्पमा बस्यो थप क्षयीकरण हुनेछ ।

झिल्को डटकमबाट