Loading

काठमाडौं । नारायणहिटी दरबारको प्राङ्गणमा गरिएको जनप्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आफूहरुले इतिहासकै ठूलो सभा गरेको दावि गरेका छन् ।

ओलीले आफ्नो सरकारले गरेका विभिन्न फेहरिस्त सुनाउँदै देशमा विकासको लहर ल्याउने बताएका छन् । सडक बालबालिकाहरु हटाएर उनीहरुलाई संरक्षण गरेको पनि उनको दावि छ । उनले कसैको नाम नलिईकन पूर्व प्रधानमन्त्रीले अरुले पकाएको भात पस्केर टेलिभिजनमा फोटो हालेर तमासा देखाएको दावि गरेका छन् । उनले नेपाललाई सुरुङ मार्गमा प्रवेश गराएको पनि बताएका छन् । काठमाडौं–नौविसे सुरुङ मार्ग तिव्र ढंगले लगिने बताएका छन् । हरेक पालिकामा औद्योगिक ग्राम स्थापना गरिने र हरेक प्रदेशमा पनि औद्योगिक क्षेत्र तोकिने उनले बताएका छन् ।

केपी ओलीले कोभिड–१९को कारण गत वर्ष केही असर गरे पनि अब खोप अभियानले चलेकोले कोरोनाको पूर्ण निस्तेज नगरी खोप अभियान चलिरहने बताएका छन् । हिजो द्वन्द्व भएको कारण सबै पक्षलाई दुःख दिएको थियो भन्दै द्वन्द्व कालमा पीडित भएकाहरुको सबैको हेरविचार यो सरकारले गर्ने केपी ओलीले उद्घोष गरेका छन् । आफ्नो अभियान देशलाई भ्रष्टचारमुक्त बनाउने रहेको उनले बताए । भ्रष्चारमा आरोप लागेको मन्त्रीहरुलाई दाया बाया राखेर ओलीले सो कुरा बताएका हुन् । ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धी गर्दा आफूलाई हटाइयो भने अहिले नक्सा छापिए पछि उत्पात मच्चाउन खोजेको आरोप लगाएका छन् ।

विभिन्न संवैधानिक आयोगहरु तीन वर्षसम्म रिक्त रहेको भन्दै बल्ल केही मानिस बाहिरिएपछि आफूहरुले ती संवैधानिक नियुक्ति गरेको बताएका छन् । दाहाल नेपालतर्फ संकेत गर्दै संसदलाई केही पनि गर्न नसक्ने र भएको वहुमतको सरकार ढालेर जोडजामको सरकार गठन गर्न उदत्त भएपछि संसद विघटन गरेर स्थिरताको लागि चुनावमा गएको जिकिर गरेका छन् । अस्थिरता होइन स्थिरताको लागि चुनाव चाहियो भन्दै सहभागीहरुलाई नारा लगाउन लगाए ।

ओलीले अब चुनावले सबै कुराको फैसला गर्ने बताएका छन् । दाहाल–नेपाल तर्फ संकेत गर्दै ओलीले निर्वाचन आयोगमा गएर चुनावको तयारी नगर भनी अलोकतान्त्रिता चरित्र देखाएको आरोप लगाए । नेपालमा लोकतन्त्र कसैले मास्न नसक्ने ओलीले उद्घोष गरेका छन् । संसद विघटन प्रधानमन्त्रीय प्रणालीमा देश चलाउन नसक्ने अवस्थामा विघटन गर्न सक्ने अधिकार हुने बताएका छन् । उनले वेलायतको उदाहरणलाई पुन स्मरण गराएका छन् । इतिहासमा कुनै सरकारले गर्न नसकेको काम आफूहरुले गरेको ओलीको दावि छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, राजतन्त्र विरुद्ध र समानताको लागि आफूले आधा शताब्दी विताएको स्मरण गराउँदै आफूबाट यसमाथि प्रहार गर्न खोज्यो भन्दै चलाएको भ्रममा कोही नपर्न आव्हान गरेका छन् । नेपाललाई समाजन्मुख बनाउन कसैले रोक्न नसक्ने ओलीको जिकिर छ । तामा खानी, फलाम खानीहरु पनि आफ्नै देशमा उत्पादन गर्ने तर्फ लागिरहेको बताएका छन् ।