Loading

काठमाडौं । सरकारले भारतसँग बिग्रिएको भनिएको सम्बन्ध सुधारको प्रयास शुरु गरेको छ । भारतीय उच्च अधिकारीले लगातार नेपाल भ्रमण गरिसकेपछि नेपालबाट पनि उच्चस्तरीय भ्रमणको तयारी भएको हो ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले माघको पहिलो साता भारतको भ्रमण गर्ने भएका हुन् । नेपाल–भारत संयुक्त परराष्ट्र मन्त्रीस्तरीय संयन्त्रको छैटौं बैठकमा भाग लिन ज्ञवाली जान लागेका हुन् । मितिको अन्तिम टुंगो नलागेपनि दुवैतर्फका सरकारी अधिकारीहरुका अनुसार माघ १ गते मन्त्री ज्ञवाली भारत जाने तयारीमा रहेका छन् । मन्त्री ज्ञवालीले पनि भारत भ्रमणको तयारी भईरहेको जानकारी दिएका छन् । ‘मितिको ठ्याक्कै टुंगो लाग्न सकेको छैन । दुई–तीनवटा मितिमा छलफल भइरहेको छ । जनवरीभरमा भारत जाने भने टुंगो लागेको छ’, उनले भने ।

मन्त्री ज्ञवाली परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रको बैठकमा भाग लिन भारत जान लागेका पनि बताए । भ्रमणका क्रममा द्धिपक्षीय हित, नेपालको पछिल्लो राजनीतिक अवस्था, सीमा विवाद सम्बन्धमा छलफल हुने बताइएको छ । नेपालले भारतबाट एक करोड २० लाख कोरोनाविरुद्धको खोप खरिद गर्ने भएको छ । त्यसका लागि यो भ्रमणमा महत्वपूर्ण सहमति बन्न सक्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । भारतमा अहिले दुईवटा खोपलाई आपतकालिन प्रयोगको अनुमति दिइएको छ । ‘कोभिशिल्ड’ र ‘कोभ्याक्सिन’ खोपले अनुमति पाएपनि मुल्यको विवादले गर्दा प्रयोगमा आएको छैन । भारत सरकारले शुरुका १० करोड डोज प्रतिडोज २ सय रुपैयाँमा खरिद गर्ने बताएको छ । कोभिशिल्ड उत्पादनकर्ता कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले भने त्यसपछि प्रतिडोज १ हजार भारतिय रुपैयाँमा बेच्न पाउनुपर्ने बताईरहेको छ । त्यहाको स्वास्थ्य मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै अबको एक साताभित्र पहिलो चरणको खोप अभियान सुरु गर्ने जानकारी दिएको छ ।

नेपालले समेत कोभिशिल्ड खोप भित्र्याउन चाहिरहेको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यसअघि खोप उत्पादन कम्पनी र भारतीय सरकारी अधिकारीसँग विभिन्न चरणमा छलफल गरिरहेका छन् । उनले मंगलबार मात्रै भारत बायोटेक के कार्यकारी निर्देशक डा. वी. कृष्ण मोहनससँग छलफल गरे । बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारमा कोभ्याक्सिन खोप विकास भएको हो । कोभिसिल्ड भने अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको खोप हो ।

भारतीय विदेशमन्त्रालयले भारतमा खोप अभियान सुरु भएको १५ दिनभित्र दक्षिण एसियाली मुलुकमा निर्यात गर्न सकिने भन्ने भनाई सार्वजनिक भएपछि नेपालले तयारी गरेको छ । भारतीय सञ्चारमाध्यमले नेपाललाई एक करोड २० लाख खोप उपलब्ध गराउने प्रतिबद्धता नयाँ दिल्लीबाट मिल्ने सम्भावना बढि रहेको बताएका छन् । सरकारी उच्च अधिकारीबाटै खोप ल्याउने सुनिश्चितताका लागि मन्त्री ज्ञवाली जान लागेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सीमा समस्यामा छलफल हुन्छ ?
भ्रमण कति दिनको हुने नबताइएपनि दुई दिनको हुन सक्ने बताइएको छ । भ्रमणका क्रममा हुने दुई देशका परराष्ट्र मन्त्रीस्तरिय संयन्त्रको छलफलमा कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताका विषयमा पनि छलफल हुने भएको छ । भारतले सेना लगाएर कब्जा गरेको नेपाली जमिनसहितको राजनीतिक नक्सा सरकारले सार्वजनिक गरेपछि भारतले असन्तुष्टि जनाईरहेको छ ।

नक्सा जारी भएपछि दुई देशबीच आरोपप्रत्यारोप पनि चलेको थियो । जसले गर्दा सम्बन्धमा समेत असर परिरहेको छ । संयन्त्रणको बैठकमा दुई देशबीच चलिरहेको सीमा विवादमा पनि चर्चा हुने भारतीय अधिकारीहरुले बताएका छन् । काठमाडौं र नयाँ दिल्लीमा अधिकारीहरु स्वास्थ्य क्षेत्रसहित कयौं सम्झौतालाई अन्तिम रुप दिइरहेको पनि बताइएको छ । दुई देशबीच परराष्ट्रमन्त्री स्तरमा सीमा समस्याका विषयमा छलफल भएपछि प्रधानमन्त्रीस्तरीय छलफल पनि हुन सक्नेछ । भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत आउन निम्तो दिन सक्ने आकंलन गरिएको छ ।

नेपालको राजनीतिमा कुनै ठुलो उथलपुथल नभए सीमा विवाद चाडै टुंगोमा पुग्न सक्ने दुवै देशका सरकारी अधिकारीहरुको दावी छ । परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणपछि दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार हुने बताइएको छ । भ्रमणका बेला भारतले नेपालको धार्मिक र सांस्कृतिक विरासतको पुनःनिर्माणका लागि थप सहयोगको घोषण गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।