![]()
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारीकता अदालतबाट आफैंलाई प्राप्त हुने बताएका छन् । संसद् विघटन र पार्टीको आधिकारिकताबारे अदालतबाट आफ्नै पक्षमा फैसला आउने ठोकुवा गरेका हुन् ।
काठमाडौं जिल्लाका आफूनिकट कार्यकर्ताहरूको कार्यकर्ता भेलामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आधिकारिक व्यक्ति को हो र आधिकारिक पार्टी तथा निर्णय को हो भन्ने छुट्याउन सर्वोच्च अदालत सक्षम रहेको बताए ।
चर्चित कलाकार चार्ली च्याप्लिनको कथा सुनाउँदै ओलीले पार्टीको आधिकारिकताको विषयमा अदालतले आफ्नो पक्षमा फैसला दिने बताए । ‘चार्ली च्याप्लिनजस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना अन्तिममा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन पनि सहभागी भएको रहेछ । तर अन्तिम चारमा ऊ पुगेको रहेनछ,’ उनले थपे, ‘हाम्रो अदालतले को हो असली चार्ली च्याप्लिन भन्ने पत्ता लगाउँछ । कुम हल्लाइ, कपालमा लगाएको जेल र जुँगाबाटै पत्ता लगाउँछ ।’
सर्वोच्च अदालत सक्षम रहेको भन्दै ओलीले आफ्नो पक्षमा फैसला आउनेमा कार्यकर्ताहरूलाई विश्वस्त पार्न खोजेका हुन् ।
सूर्य चुनाव चिह्न आफूसँगै रहेको भन्दै ओलीले त्यसमा कुनै शंका नराख्न कार्यकर्ताहरूलाई विश्वस्त पारे । निर्वाचन आयोगमा पार्टीको आधिकारिता र चुनाव चिह्नबारे प्रक्रिया अगाडि बढेको बेलामा प्रधानमन्त्री ओलीले आधिकारीकता आफूसँग रहेको बताए । उनले पार्टीको कार्यकारी अध्यक्ष दाहाललाई दिएको तर त्यसबाट पार्टी नै उनको नभएको धारणा राखेका थिए ।
