![]()
काठमाडौं । आकृति तामाङले ‘मिसेस तामाङ–२०२०’ को ताज हात पारेकी छन । एसके इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको उक्त प्रतियोगितामा उनले ताजसँगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाइटल समेत जित्न सफल भएकी छन् । प्रतियोगितामा क्रान्ति लामा योञ्जन फस्र्ट रनरअप, पब्लिक च्वाइस र मिसेस कन्फिडेण्ट, मिनाकुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेन्डली, मुना तामाङले थर्ड रनरअप र बेस्ट वाल्कको उपाधि जित्न सफल भए । उक्त प्रतियोगिताको निर्णायकमा केशव थापा, शान्ति वाइबा तामाङ, रोशन तामाङ, वीरेन्द्र वाइबा तामाङ र प्रमुख निर्णायकमा प्रभात तामाङ रहेका थिए । प्रतियोगिताका बिजेताले नगद रुपयाँ ५०, २५, १५ र १० हजारसहित विभिन्न उपहारसमेत प्राप्त गरे ।
बागमती प्रदेशका उपसभामुख राधिका तामाङको आतिथ्यतामा राजधानीमा सम्पन्न भएको उक्त प्रतियोगितामा पूर्वमन्त्री पर्शुराम तामाङ र धनबहादुर घलेको उपस्थिति रहेको थियो । तीन वर्षदेखि एसके इन्टरटेनमेन्टले मिसेस तामाङ आयोजना गर्दै आएको छ । तामाङ जातिको कला, संस्कृति, भेषभूषा, रीतिरिवाज एवं रहनसहनको संरक्षण, प्रवद्र्धन तथा सवद्र्धन गर्ने लक्ष्य राखेर प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विवाहित गृहिणी र व्यवसायिक तामाङ महिलामार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवद्र्धन र सामाजिकीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले बताइन् ।
प्रतियोगीले फेसन कोरियोग्राफर रोजिन शाक्यमार्फत एक महिनासम्म विशेष प्रशिक्षण लिएको बताउँदै अध्यक्ष शान्ताले प्रतिस्पर्धीलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण प्रदान गरिएको जानकारी दिइन् । उनले प्रतियोगीले आफूले सिकेको ज्ञानलाई समाज निर्माण लगाउन आग्रह गरिन् । उनले यो प्रतियोगिताले विवाहित तामाङ नारीबीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटन गर्न तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गरिन् ।
