Loading

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा आन्दोलित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय नेकपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घोषित आन्दोलनका कार्यक्रम शान्तिपूर्ण रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता श्रेष्ठले देशव्यापी आन्दोलन गरिने बताए ।

आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका कार्यक्रम रहेका छन् । आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिया, छलफल, विरोध प्रदर्शन लगायत रहेका छन् । आगामी माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रमा मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम रहेको छ ।

संसद पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल नेकपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ । संसद विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।

केके छ आन्दोलनका कार्यक्रम ?

प्रचण्ड-माधव समूहको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

घोषित कार्यक्रममा प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेसम्म छन् । २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने प्रचण्ड माधव समूहले बताएको छ ।

  • पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
  • पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
  • पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
  • २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।
  • २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
  • ३६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
  • २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
  • २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
  • २९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
  • ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।
  • ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
  • १० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।
  • १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
  • २२ माघमा वडा तहमा मसाल जुलुस ।
  • २३ माघमा राजधानीमा विरोध प्रदर्शन ।