Loading

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर कलंकको टीका लगाएको बताएका छन् ।

पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताए । उनले भने, ‘प्रतिनिधिसभा भङ्ग भएको छैन । भङ्ग भएको त केपी ओलीको सरकार हो ।’

उनले अगाडि भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’

सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको प्रचण्डले बताए । ‘म भरोसा गर्न चाहन्छु हाम्रो सम्मानित अदालतले सिंगो देशको यो भावनालाई सम्मान गर्नेछ,’ उनले भने, ‘सर्वोच्च अदालतले संविधानको मर्म र भावनालाई बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ ।’

देशभर भएको प्रदर्शन जनताले गरेको सहजीकरण हो भन्ने रुपमा बुझिदिन पनि उनले आग्रह गरे । उनले आन्दोलनको सुरुवातमात्र भएको पनि प्रस्ट पारे ।

संविधानमाथिको यो निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने भोलि आँधीहुरी आउने चेतावनी पनि उनले दिए । नेपाली जनतामा जागरण र चेतनाको नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै उनले ‘प्रतिगमनकारी’लाई खबरदारीसमेत गरे ।

‘बयलगाडा’को सिद्धान्त मलाई थाहा थियो 

अध्यक्ष ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली परिवर्तनका पक्षधर होइनन् भन्ने आफूलाई थाहा भएर पनि पार्टी एकता गरेकोमा जनतामाझ क्षमायाचना गरेका छन् ।   उनले त्यसका बाबजुद ओलीले नै आफूले जनताको चाहनाअनुसार परिवर्तनलाई मानेको भनेर आफूसँग भनेका कारण त्यही कुरालाई विश्वास गरेर पार्टी एकतामा लागेको पनि प्रस्ट पारे ।

प्रचण्डले संविधान बनाउन अहिलेसम्म विश्वले मानेको सबैभन्दा लोकतान्त्रिक विधिमार्फत नेपालमा संविधान निर्माण भएको स्मरण गराए । ७० वर्ष लामो संघर्षको परिणामस्वरुप संविधानसभाबाट संविधान निर्माण भएको उनको भनाइ थियो ।

कम्युनिस्ट पार्टीलाई मत दिएपछि राजनीतिक स्थायित्वको नयाँ युग प्रारम्भ हुनेछ भन्ने जनअपेक्षा रहेको उनले स्मरण गराए । उनले नेपाली जनताको अगाडि उभिएर आफूहरुले नै बनाएको, आफ्नै पार्टीले बनाएको प्रधानमन्त्रीबाट त्यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर भन्नुपर्ने अवस्था आएको बताए ।

‘ओली संघीयता विरोधी, धर्मनिरपेक्षताविरोधी हो भन्ने मलाई थाहा थियो,’ उनले भने, ‘उहाँको मनले मानेको थिएन, तर जनताको आँधीहुरी आएपछि त्यसैमा बगिदिएँ भनेर उहाँले भन्नुहुन्थ्यो ।’

वाम गठबन्धनलाई जनताले झण्डै दुई तिहाइ मत दिएका भए पनि तीन वर्ष पुग्दा नपुग्दै यो दिन आइपुग्ला भन्ने नसोचिएको उनले सुनाए ।

केपी ओली र ओली प्रवृत्तिको आयु सकियो : अध्यक्ष नेपाल

अध्यक्ष माधव कुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली र उनको प्रवृत्तिको आयु सकिएको बताएका छन् । मंगलबार संसद विघटनविरुद्ध काठमाडौंमा भएको विशाल प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले केपी ओली र ओली प्रवृत्तिको आयु सकिएको बताएका हुन् ।

‘निरंकुशताको बाटो समातेका केपी ओली र ओली प्रवृत्तिको आयु सकियो । नेपाली जनता दृढताका विरुद्ध उभिएका छन्’, नेता नेपालले सम्बोधनका क्रममा ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको बताए । ‘जुनसुकै कोणबाट हेर्दा पनि त्यो कदम अनुपयुक्त छ । स्वीकार्य छैन । असंवैधनिक कदमलाई अस्वीकार गर्न आन्दोलनको उद्घोष गरेका हौँ,’ नेता नेपालको भनाइ थियो ।

गणतन्त्रको आन्दोलन चलेका बेला खिसिट्युरी गरेर बलयगाढा चढेर गणतन्त्र आउदैन भनेर ओलीले भनेको स्मरण गर्दै नेता नेपालले ओलीले चालेको असंवैधानिक कदमपछि पार्टी अध्यक्षबाट हटाएको बताए । ‘अझै उहाँ सुध्रनुहुन्छ कि भनेर पार्टी सदस्यबाट हटाएका छैनौँ,’ नेपालको भनाइ छ । अझै पनि ओलीले पश्चाताप र गल्ती स्वीकार गरेमा सबै कुरा बिर्सन तयार रहेको नेता नेपालले जनाए ।

केही नेताहरु अझैपनि ओलीलाई मनाउने प्रयासमा रहेको भन्दै बालुवटारको बालुवा पेलेर तेल निकाल्ने प्रयासमा लागेका नेताहरुलाई शुभकामना दिए । उनले संविधान र कानुन मिच्ने प्रवृतिको विरोधमा सबै शक्तिले साथ दिनेमा आफु विश्वस्त रहेको पनि बताए । ‘आउनुहोस् सबै वामपन्थी, लोकतन्त्रवादी, नागरिक समाजका अगुवाहरु सोच्नुस्, हातेमालो गरौँ,’ नेता नेपालले आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरे । नेता नेपालले संविधान अनुसार प्रतिनिधिसभा भंग गइसकेपछि उनी काम चलाउ प्रधानमन्त्रीका रुपमा सिमित रहेको बताए । 

अध्यक्ष नेपालले नेपाली जनता दास बन्न तयार नरहेको पनि बताए । ‘नेपाली जनता दास बन्न तयार छैनन् । उनीहरु अव देशलाई सहि लिगमा लिएर जान र समाजवादको दिशामा जाने पक्षमा रहेका छन् । त्यो काम गर्ने शक्ति भनेको नेकपाबाहेक अरु शक्ति छैन,’ नेता नेपालको भनाइ छ । उनले कहिलेकाही खोजे जस्ता सन्तान नहुने भन्दै पार्टीमा पनि त्यस्तै भएको बताए । उनले राजा ज्ञानेन्द्र प्रवृतिसँग तुलना गर्दै नेता नेपालले ओलीलाई अझै सद्बुद्धि आवस् भन्ने कामना गरेको बताए ।  तर उनले आएन भने समयले नपर्खने बताए । ‘सहिलाई सहि भन्ने र दोषीलाई कडा सजाय दिन्छ । ओलीजीले जनतालाई सुख कम, दुख ज्यादा दिनुभएको छ । उहाँमा मान सम्मान दिने कम्युनिस्ट आचरण र संस्कार रहेनछ । सल्लाहमा चल्ने सामुहिकतामा विश्वास गर्ने चलन छैन । गुटवाद, निरंकुश चरित्र र बदलाको भावना छ,’ नेपालको टिप्पणी थियो । उनले ओलीले सधैँ पार्टीका नेताहरुसँग ढँटछल गर्ने गरेको भन्दै त्यस्तै प्रवृीत्त पूर्व राजाको पनि भएको जिकिर गरे ।

नेकपा र सूर्य चिन्ह नेकपा कै हुने भन्दै सूर्य कसको पक्षमा जाने हो भनेर भ्रममा नपर्न नेता नेपालले आग्रह गरे ।’ केपी ओलीलाई सुनामीले बगाएर लैजान्छ,’ नेपालको भनाइ छ ।

ओलीले पार्टीलाई भर्‍याङ मात्रै बनाए, मरिचमानले जतिपनि काम गरेनन् : झलनाथ खनाल

वरिष्ठ नेता झलनाथ खनालले केपी ओली नेतृत्वको सरकारले मरिचमान सिंहले जति पनि काम नगरेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमको विरोधमा भृकुटीमण्डमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले १४ वर्ष जेलमा बसेर आएको मान्छे केपी ओलीलाई पार्टी नेताका रुपमा खडा गरेपनि उनले पार्टीलाई भर्‍याङमात्रै बनाएकाले देश नै तहसनहस भएको आरोप लगाए ।

पटक–पटक जनताका पक्षमा काम गर्न सुझाव दिएपनि पार्टीले भनेका कुरा सुन्न छाडेको भन्दै उनी तानाशाही बन्न थालेको बताए । ‘गफ नै गफ हाँकेर तीन बर्ष बिताउनुभयो,’ खनालले भने, ‘केपी ओलीलाई पार्टी अध्यक्ष बनाइयो, प्रधानमन्त्री बनाइयो । पार्टीको कार्यक्रम अनुरुप अघि बढाउने अपेक्षा गर्‍यौँ तर बालुवाटारमा पुगेदेखि उहाँले सबै बिर्सनुभयो । पार्टीलाई भर्‍याङमात्रै बनाउनु भयो ।’

सम्बोधनका क्रममा खनालले ओलीले पार्टी विरोधी र जनविरोधी गुटको नेतृत्व गरेको भन्दै आफैले बनाएको संविधानमाथि विश्वासघात गरेको बताए । ‘जनताको जनमतमा घात गरेको छ । यसअघिको विजय नेकपाको विजय हो । ओलीलाई भोट दिएको होइन,’ खनालले भने, ‘जनताको जनतम दुरुपयोग गरेर संविधान माथि हमला गरेको छ । संघर्षको दुम्दुभी बढेको छ, गगनभेदी नारा गुञ्जेको छ, जबसम्म संसद पुनर्स्थापना हुँदैन तबसम्म आन्दोलन रोकिँदैन ।’