Loading

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाकार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका छन् । बोहरा सुदूरपश्चिम प्रदेश सरकारमा केपी ओली समूहका मन्त्री हुन् ।

प्रतिनिधिसभा विघटनपछि सोमबार प्रदेशको मन्त्रीपरिषद बैठक बसेको थियो । काठमाडौं भएकाले भौतिक पूर्वाधारमन्त्री बोहरा मन्त्रीपरिषद बैठकमा उपस्थित थिएनन् । ‘आज मुख्यमन्त्री ज्युले उहाँ (पठानसिह बोहरा) लाई पदमुक्त गर्नुभएको छ, ‘मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव सिह ओलीले भने । 

भौतिक पूर्वाधारमन्त्री त्रिलोचन भट्टको मन्त्रीमण्डलका लोकप्रीय मन्त्री थिए । यसपाली नेकपा आध्यक्ष ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा सदस्य हुन बाहेक मन्त्री बोहरालाई पदमुक्त गर्नुको खासै कारण खुलाइएको छैन ।

भौतिक पूर्वाधार मन्त्रीका स्वकीय सचिव केशबराज अवस्थीले पनि पदमुक्त गरिएको हल्ला सुनेको तर आधिकारिक केही नआएको बताए । ‘ओली पक्षका भएकाले त होला नी पदमुक्त गरेको, मन्त्रालयको काममा त पूर्वाधार मन्त्रालय अब्बल देखिएको छ,’ अवस्थीले भने ।

सुदूरपश्चिमको मन्त्रीमण्डलमा पठानसिंह बोहरा पहिलादेखि नै ओली पक्षमा खुलेका नेता हुन् । पार्टी विभाजनको संघारमा पुगेका बेला आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई यसैपाली ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । तर उनलाई भने मुख्यमन्त्रीले पदमुक्त गरेका छैनन ।

सुदूरपश्चिमको मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित ७ जना थिए । त्यसमध्ये चारजना साविकको एमाले र तीनजना माओवादी केन्द्रबाट मन्त्री भएका हुन । पठानसिह पहिला नै ओली पक्षमा खुलिसकेका थिए ।