Loading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताएका छन् ।

सोमबार जनसंस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताएका हुन् । सोही दिनबाट नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरु विजयी भएको पनि अध्यक्ष प्रचण्डले बताए ।

उनले भने, ‘म, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पलेटी कसेर बाटोमा जाँदाखेरी यिनिहरु त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखें मैले । मलाई के लागेको छ भने हामी सडकमा पुगेको होइन हामी जनताको बीचमा पुग्यौं । केपी ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडनु भयो । त्यहिंबाट उहाँ पराजित हुनुभयो हाम्रो विजयको सुरुवात भयो ।’

पार्टी भित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक संकट ल्याउने हदसम्म पुर्याएको पनि अध्यक्ष प्रचण्डले बताए। यस कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको पनि बताए। संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले इतिहासको पानामा कलंकको टीका लगाएको समेत बताए।

उनले भने, ‘हाम्रो पार्टीभित्र विवाद चलेको पक्कै पनि हो । अन्तरसंघर्ष चलेको हो । त्यहाँ सही र गलतको बीचमा हामीले पार्टी एकताको बेलामा निर्धारित गरेको राजनीतिक प्रतिवेदन र विधान अनुसार चल्नु पर्छ भन्ने जोड गरेर व्यक्तिवादी तरिकाले गुटवादी तरिकाले पार्टी विधि पद्धती भन्दा बाहिर गएर चल्नेका बीचको लडाई परेकै हो तर त्यो पार्टी भित्रको संघर्ष थियो ।

पार्टी भित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्यपूर्ण हो । तर मैले के भन्ने गरेको छु भने केपी ओली पराजित हुनुभयो इतिहासमा । उहाँ कलंकित हुनुभयो । उहाँले कलंकको टिका लगाउनुभयो । हामी फेरी एकचोटी हाम्रो विजयको अभियानको सुरुवात भयो ।’

प्रधानन्त्री ओलीले हुँदै नभएको प्रावधानबाट संसद विघटन गरेर आफूहरुलाई जनतामा जाने मुद्दा दिएको पनि बताए । संविधान, संघीयता र गणतन्त्रको पक्षमा फेरि एकपटक लडने मुद्दा दिएकोले अव हुने कुनैपनि चुनावमा आफूहरुले जित्ने पनि अध्यक्ष प्रचण्डले बताए । तर पछिलो समय जे भइराखेको छ त्यो क्रान्ती र प्रतिक्रान्तीको बीचमा, अग्रगमन र प्रतिगमनको बीचमा भएको लडाई रहेको पनि बताए। उनले भने, ‘अहिले देशमा जे भइराखेको छ यो क्रान्ती र प्रतिक्रान्तीको बीचमा, अग्रगमन र प्रतिगमनको बीचमा, प्रगती र दुर्गतीको बीचको लडाईको रुपमा रहेको छ ।’

कम्युनिष्टहरु शासनको नेतृत्व गर्ने ठाउँमा पुग्दा नेताहरुको बिचारमा गम्भिर समस्या देखा पर्ने गरेको पनि अध्यक्ष प्रचण्डले बताए। रुस र चीनमा समेत कम्युनिष्ट आन्दोलन हुँदा बैचारिक संस्कृतिक समस्या आएको बताउँदै त्यस्तै समस्या अहिले नेपालमा पनि देखा परेको अध्यक्ष प्रचण्डले बताए ।

२०४७ साल पछिका अनुभवहरुलाई हेरेर संविधानमा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिइएको पनि अध्यक्ष प्रचण्डले बताए। संविधान सभामा भएका दलहरुबीच व्यापक छलफल गरेर संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार खोसिएको बताए । तर प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरेको बताए ।

उनले प्रतिनिधि सभा नमरेको समेत बताए। प्रधानमन्त्रीले सदन विघटन गर्ने अधिकार नै नदिएकाले सदन अहिले पनि जीवितै रहेको तर सरकार विघटन भएको अध्यक्ष दाहालले बताए । सम्मानीत अदालतले संविधानमा प्रष्टसँग लेखिएको कुरा बुझ्दैन भनियो भने अदालतको सम्मान प्रति अपमान भएको ठहर्ने समेत बताए। त्यसैले सर्वोच्च अदालतले संविधानको पक्षमा फैसाला गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रहार संविधान माथिको मात्र नभएर समग्र लोकतन्त्र, देशका सबै उत्पीडित वर्ग जाती, क्षेत्र, लिङ्ग, समूदायको पहिचान, समावेसिता र समावेसी लोकतन्त्रको हक अधिकार माथिको प्रहार भएको पनि बताए ।