Loading

मंगलसेन/अछाम जिल्ला अदालतले वडाध्यक्षको हत्यामा संलग्‍न ४ जनालाई जन्मकैदनको फैसला सुनाएको छ ।

गतवर्ष माघ २० गते राति भैंसी गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्‍न उनीहरुलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

बुधबार जिल्ला न्यायधीश नविनकुमार जोशीको एकल इजालशले हत्यामा संलग्‍न भएको भन्दै प्रेमबहादुर धामी,जीवन धामी,रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला गरेको अदालतका तहशिलदार नारायण पौडेलले जानकारी दिए । अन्य ५ जनाले सफाइ पाएको उनले बताए । मृतकका भाइ सुरतबहादुर धामीले ९ जनाको नाममा किटानी जोहेरी दिएका थिए । मृतक धामीको घरदेखि २ सय मिटर परको गैरीगाउँमा भैंसी गोठमा शव फेला परेको थियो । 

शिक्षक पेसाबाट राजीनामा गरी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा धामी निर्वाचित भएका थिए । घटनामा आफ्नै आफन्त संग्लग्‍न भएकाले हत्यारा पत्ता लगाउन झण्डै एक वर्षको समय लागेको मृतक धामीका भाइ सुरतबहादुर धामीले बताए ।

कान्तिपुर बाट