![]()
प्रचण्ड–नेपाल समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकल्प हुँदा हुँदै संसद विघटन गरेकोमा प्रधानमन्त्री केपी ओलीको भत्सर्ना गरेका छन्।
‘पाँच मिनेट समय दिनुहोस् विकल्प लिएर आउँछु, संसद विघटन नगरौं भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्नु भएन’, बिहिबार राजधानीमा आयोजित केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले भने। उनले पार्टी बचाउने विकल्प छ भन्दाभन्दै विघटन किन गरेको? भनेर प्रश्न गरेका थिए।
‘लोकतान्त्रिक प्रणालीलाई अपहरण गरेर कता जान खोजिएको हो? खबरदार! संविधानको अपहरण नगरियोस्। वैधानिक निकायलाई हामीले लगातार खबरदारी गरिरहनेछौं,’ उनले भने।
उनले नेकपा भित्र के भइरहेको छ, सबैसामू स्पष्ट रहेको भन्दै उनले जसले जे दाबी गरे पनि आधिकारिक नेकपा आफूहरू नै भएको बताए। ‘केपी ओलीले नेतृत्व गरेको त गुट हो, पार्टी होइन । त्यो अवैधानिक छ’, उनले भने।
कानुन र राजनीतिक रूपमा पनि आधिकारिक नेकपा भएको भन्दै उनले यो क्रान्तिको झण्डा बोक्ने र क्रान्ति छाड्नेहरूबीचको लडाइँ भएको स्पष्ट पारे।
उनले पछिल्लो घटनाक्रमका पछाडि ठूलो ग्रानडिजाइन रहेकोसमेत बताए।
‘यो बाहिर देखिएजस्तो सामान्य घटनाक्रम होइन, यो ठूलो षड्यन्त्रको डिजाइन हो’, उनले भने।
यो घटनालाई २०१७ सालसँग तुलना गर्दै दाहालले १७ सालकै प्रकृतिको षड्यन्त्रमुलक नाटक मञ्चन भइरहेको दाबी गरे।
प्राप्त उपलब्धिको रक्षाका लागि संघर्ष आवश्यक देखिएको भन्दै उनले कम्युनिस्ट आन्दोलनका उपलब्धि अपहरण गर्ने ग्राइन डिजाइनअन्तर्गत अहिलेको घटना भएको बताए।
संविधान र लोकतन्त्रलाई अपहरण हुनबाट जाजोगाउनु अहिलेको प्रमुख मुद्दा रहेको भन्दै उनले फेरि एकपटक ठूलो योगदान र बलिदानका लागि तयार रहन आग्रहसमेत गरे।
आफूहरूलाई कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आवश्यक परे जुनसुकै वेला सडकमा आउनुपर्ने बताए।
‘हामी कोही अब पार्टीगत राजनीतिबाट टाढा जाने छैनौं, युद्वमा जाने छैनौं । हामी यही संसदीय राजनीतिमै छौं’, उनले भने’।
