![]()
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन्।
ओलीको यो असंवैधानिक कदमले मुलुकलाई अस्थिरता र द्वन्द्वतिर धकेलिएको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भित्रको झगडा मिलाउन शीर्ष नेताहरुबीचको शनिबार भेटवार्ता तीव्र बनेको थियो। शनिबार दिनभरजसो नै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु एकल र संयुक्त भेटवार्तामा व्यस्त रहेका थिए। छलफलमा कुरा मिल्न नसकेपछि नेकपाको विवाद थप तनाबपूर्ण बनेको छ।
वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।
उनले आम निर्वाचनको मितिसमेत तोकेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिसअनुसार ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी हुन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष लगेका थिए ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरिदिएकी छन्। आइतवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले संसद विघटन गरिदिएकी हुन्।
मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोकेकी छन्। यससँगै संघीय संसद तीन वर्षमै विघटन भएको छ।
‘संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ’, राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवम् मूल्य मान्यता तथा संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जाने निर्णय लिइएको जनाएको छ।
