सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ९० सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ।
नेकपाका सचेतक देव गुरूङका अनुसार बिहान मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा सांसदहरूले सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। सचिवालय स्रोतका अनुसार दर्ता नम्बर १ रहेको उक्त प्रस्तावमा ९० सांसद हस्ताक्षर छ। सचेतक गुरूङले संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरेको बताए। उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ।
‘संसद विघटन गर्न सिफारिस गरेको भन्ने कुरा मिडियामा आएपछि यो संविधानमा व्यवस्था नभएको विषय हो। संविधानविपरीतको कदम सरकारले चाल्न थाल्यो भनेर प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हौं,’ उनले भने।
