![]()
काठमाडौं : प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले शिष्टाचार भेट गरेका छन् ।

आइतबार साँझ बालुवाटार पुगेर चिनियाँ रक्षामन्त्री वेइले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् । आइतबार बिहान एक दिने भ्रमणका लागि नेपाल आएका वेइ प्रधानमन्त्रीसँगको भेटपछि शीतल निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि उनी चीन फर्किने छन् । २१ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका वेइले दिउँसो सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक प्रतिनिधिसँग भेट गरेका छन् । 
चीनको राज्यपरिषद् सदस्य समेत रहेका वेइ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । जंगी अड्डामा उनले नेपाली सेनाले दिएको सलामी ग्रहण गरेका छन् ।
सेनापतिसँगको भेटपछि उनले रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुन् । चीनियाँ उच्च प्रतिनिधिको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । विमानस्थलमा पत्रकारसँग बोल्दै वेइले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन्।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारे।
चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेपालको एकदिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेईले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गरेका हुन्। आइतबार बिहान काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आजै बंगलादेश जाने कार्यक्रम छ।

