![]()
काठमाडौं, ३ कात्तिक । जनता समाजवादी पार्टीले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने तयारी गरेको छ।
आजदेखि सुरू हुनपार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउनेलगायत प्रस्तावमाथि छलफल हुँदैछ।
तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरणपछि भट्टराई जसपामा वरिष्ठ नेताका रूपमा छन्। जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्ष छन्। उनीहरू केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहने र भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउन लागिएको जसपाले जनाएको छ । पार्टीका नेता केशव झाले दिएको जानकारीअनुसार पार्टीको विधान संशोधनलगायतका एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको हो।
‘बैठकमा विधान संशोधन, नियमावली, संघीय परिषद विस्तार, केन्द्रीय समिति विस्तार, कार्यकारिणी समितिको कार्यविभाजन र समायोजनलगायत एजेन्डामाथि छलफल हुन्छ,’ उनले भने। केन्द्रीय समिति आठ सय १ र संघीय परिषद एक हजार दुई सय एक सदस्यीय बनाउन लागिएको झाले जानकारी दिए।
