![]()
वासुदेव पाण्डेय
दुई मान्छे हामी फरक मन भिन्नै सहरमा
तिमी आयौ मेरो लहरसित मिल्ने रहरमा ।
अटायौँ झैँ लाग्ने तनसहित सानो परिधिमा
थिएँ एक्लै बेग्लै अब युगल छौँ ए प्रियतमा ।।
थियो माया मानूँ अविदित कुनै चुम्बकसरि
बनायो यो जोडी युगल मनमा प्रेम-नगरी ।
बढ्यो माया सीमा परिधि यसको मादकपन
लपेट्यो वा ढाक्यो प्रणय कुहिराले तनमन ।।
थियो बल्दो सानो मनमय दियो एक मधुरो
तिमी आई जोड्यौ प्रणय रसले कथ्य अधुरो ।
फुल्यौ बास्ना छर्दै हृदय-गम-लामा मगमग
भई बत्ती पाऱ्यौ मन-मह-ल सारा जगमग ।।
सुधा हौ वा पानी कि त सिरसिरे प्रेम पवन
तिमी आई फाट्यो गिरि-हृदयको मेघ सघन ।
भए टाढा गाढा प्रणय अझ जान्छयौ जति पर
तिमी आऊ मेरो मन तिमिर कुण्ठा सब हर ।।
सुते स्वप्ना तिम्रै हरपल झझल्को छ मनमा
तिमी नै देखिन्छौ हृदयभरि खोजे नयनमा ।
शिरा, नाडी बोक्ने रगत मुटुको हौ कि धमनी
भए के होस् चिन्ता हृदय घरमा वास-र-मणि ।।
