Loading

आदरणीय डिनज्यू,
मानविकी तथा सामाजिक शास्त्र संकाय,
त्रिभुवन विश्वविद्यालय।

सुरुमै हामी तपाईंसँग माफी माग्छौं, किनभने हामीले आफ्नो परिचय यहाँ खुलाउन सकेनौं। आफ्नो शैक्षिक भविष्यको चिन्ता भएरै हामी यहाँ परिचय खोल्न असमर्थ भएका हौं।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा भएका कतिपय व्यथितिबारे केही अनलाइनहरूमा आएका श्रृङ्खलावद्ध लेख तपाईंले पनि पढ्नुभएकै होला। आफ्ना अधिकारका बारेमा बहस र तर्क गर्ने विद्यार्थीहरूलाई ‘टार्गेट’मा राख्ने र नम्बर घटाइने वा फेल गरिदिनेजस्ता ‘अपराधिक’ क्रियाकलाप हुने गरेको त्यही लेखमा उल्लेख थियो।
त्यसैले, त्यो जोखिम उठाउन हामी समर्थ छैनौं। यो खुलापत्र लेख्ने हामी यी विद्यार्थी हौँ जो केन्द्रीय पत्रकारिता विभागमा अध्ययनरत छौं र अंग्रेजी भाषामा परीक्षा दिनुपर्ने नियमकै कारण पीडित छौं।
हामीले विद्यालयदेखि स्नातक तहसम्म नेपाली भाषामा अध्ययन गर्यौं। नेपाली भाषामा नै परीक्षा लेख्यौँ र विश्वविद्यालयले हामीलाई उत्तीर्ण गरायो पनि। तर, एकाएक स्नातकोत्तर तहको पढाइ र परीक्षा अंग्रेजी भाषामा हुनुपर्ने अनिवार्य नियम लादिएको छ। ज्ञान आर्जनमा भाषा अवरोधक हुनुहुँदैन। नेपालभन्दा कैयौँ गुणा प्रगति गरेका चीन, जापान, फ्रान्समा विश्वविद्यालय शिक्षा उनीहरूको आफ्नो भाषामा अध्यापन गराइन्छ। कसैले अंग्रेजीमा पढ्न चाहन्छ भने पनि सजिलै पाउँदैन। तसर्थ, अंग्रेजीमा नपढाएको कारण नेपाल अल्पविकसित भएको होइन। निर्णय तहमा बस्नेहरूको अल्पज्ञानको कारण समस्या भोग्नुपरेको हो।
अध्ययन अध्यापनमा अथवा ज्ञान आर्जनमा भाषा ऐच्छिक हुनुपर्ने हो। नेपाली वा अंग्रेजी रोज्ने स्वतन्त्रता हुनुपर्ने हो। तर, त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागमा विद्यार्थीले भाषिक स्वतन्त्रता पाउँदैनन्। अंग्रेजीमा लेख्न जानेकाले उक्त शिक्षा लिन पायो नभए पाएन।
डिनज्यू, हाम्रो अनुभवले के भन्छ भने सेमेस्टरका कक्षाहरू जसोतसो पार लाग्छन् तर भाषा अवरोधकको रुपमा आउँदा परीक्षामा हामीले चाहेजस्तो गरी जानेका कुरा अभिव्यक्त गर्न सकिरहेका छैनौं। पढ्दा अंग्रेजी बुझिए पनि लेख्न समस्या हुने गरेको धेरैजसो विद्यार्थीको गुनासो छ। आफूले जानेको कुरा पनि अभिव्यक्त गर्न नसक्दा परीक्षामा अनुत्तीर्ण हुने, उत्तीर्ण भए पनि असाध्यै कम अंक प्राप्त गर्ने अवस्था छ। त्यसैले डिनज्यू ज्ञानको मापन गर्ने यन्त्र भाषालाई नबनाइयोस्।
उसै त नेपालमा पत्रकारिताका विद्यार्थी पत्रकारिताको अभ्यासमा आउन तयार छैनन्, त्यसमा पनि तपाईंले ज्ञान आर्जनमा भाषाको मानक अंग्रेजी राखिदिएका कारण पत्रकारिता अध्ययन गर्ने विद्यार्थीको संख्या नै क्रमशः घटिरहेको छ। अर्कोतर्फ, त्रिभुवन विश्वविद्यालयले दोहोरो मापदण्ड अपनाएको छ। मानविकी तथा सामाजिक शास्त्र संकायकै अरू विभागमा विद्यार्थीले नेपाली वा अंग्रेजीमध्ये आफूले चाहेको भाषामा परीक्षा लेख्न पाउँछ। तर, पत्रकारिता अध्ययन गर्ने विद्यार्थीले भने अंग्रेजीमा मात्रै परीक्षा लेख्नुपर्ने बाध्यकारी नियम लागु गरिएको छ।
स्नातक तहसम्म पत्रकारिता अध्ययन गरेका विद्यार्थी स्नातकोत्तर तहमा समाजशास्त्र अध्ययन गर्न बाध्य भएका छन्। यसको एउटै कारण हो तपाईंहरूले लगाएको अंग्रेजी भाषाको रटान। अंग्रेजी भाषा नजानेकै कारण पत्रकारिता तथा आमसञ्चार अध्ययन गर्न पाइँदैन भन्ने भाष्य स्थापित गर्नु कत्तिको न्यायोचित हो डिनज्यू ?
अंग्रेजी भाषामा परीक्षा दिनुपर्छ भन्ने थाहा पाएपछि कतिपय भर्ना भएका विद्यार्थी पनि नियमित अध्ययनमा आएनन्, कतिपयले प्रवेश परीक्षा पास गरेर पनि भर्ना भएनन्। नियमित कक्षा र परीक्षा सकेका सयौँ विद्यार्थीले थेसिस पूरा गरेका छैनन्। परीक्षा जसोतसो पास गरेका भए पनि भाषाको समस्याको कारण थेसिस लेख्न नसकेका सय जनाभन्दा बढी विद्यार्थी केन्द्रीय पत्रकारिता विभागमै छौं। कतिपयले नेपाली भाषामा थेसिस लेखेर अंग्रेजीमा ‘ट्रान्सलेसन’ गराएका छन्। यसो गर्दा विद्यार्थीले समय र पैसाको दोहोरो तनाव बेहोर्नुपरेको छ।
हामी सुरूमा भर्ना हुँदा अंग्रेजी भाषा अनिवार्य छ भन्ने जानकारी भएन। अहिले अध्ययनको मध्यतिर आउँदा पत्रकारिताको पढाइ निल्नु न ओकल्नु भएको छ।
डिनज्यू, तपाईंहरूले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका सबै विभागमा सेमेस्टर प्रणाली लागु भएपछि अंग्रेजी भाषामै पढाउने र परीक्षा गराउने निर्णय गर्नुभएको रहेछ। तर, समाजशास्त्र विभागले त्यो निर्णय मानेन। विद्यार्थीहरूले अहिले पनि नेपाली भाषामै परीक्षा लेख्छन्। तर, हामीलाई किन नेपाली भाषामा परीक्षा लेख्न दिइएनरु अध्ययन अध्यापनमा मातृभाषाको बहस भइरहेका बेला हामी नेपाली भएर नेपालमा नेपाली भाषामै परीक्षा लेख्न नपाउने कहाँको न्याय हो योरु यो त पत्रकारिता विषयलाई एउटा भाषाको बन्दी बनाउने मात्रै काम भएन र ?
डिनज्यू, हाम्रो धेरै अवसरको क्षेत्र भनेकै नेपाली भाषाका सञ्चारमाध्यम हुन्। अध्ययनपछि गएर नेपाली भाषाका मिडियामा नै काम गर्नुपर्ने हुन्छ। अध्ययन, अध्यापनको भाषालाई ऐच्छिक बनाइदिने हो भने नेपाली वा अंग्रेजी भाषामा अध्ययन गर्न चाहने सबै विद्यार्थीलाई न्याय हुन्छ।
कतिपयको तर्क विद्यार्थीको क्षमता अन्तर्राष्ट्रिय स्तरको बनाउन पढाइमा अंग्रेजी भाषा अनिवार्य गरेको भन्ने हुने गरेको छ तर, हाम्रो लागि दैनिक रोजीरोटी महत्त्वपूर्ण विषय छ। जसले स्नातक तहसम्म नेपाली माध्यममा पढेर आयो उसलाई भाषाकै कारण स्नातकोत्तर तहको पढाइमा वञ्चित गर्नु कसरी न्यायोचित होला र ?
पत्रकारिताको अभ्यास गरिरहेका तर, पत्रकारिताको शैक्षिक ज्ञान नभएका कतिपय व्यक्तिहरू पत्रकारिता पढ्न खोजिरहेका छन्। तर, त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता अंग्रेजी भाषामै पढ्नुपर्ने अनिवार्य व्यवस्थाका कारण अरू विश्वविद्यालय गएका छन्। भाषासम्बन्धी अवैज्ञानिक निर्णयले त्रिभुवन विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीको अधिकार कुण्ठित भएन र डिनज्यू ?
तसर्थ, पत्रकारिता विषयमा भएको अनिवार्य अंग्रेजी भाषाको ‘सिन्डिकेट’ हटाइयोस्। भाषालाई ऐच्छिकरूपमा रोज्न पाउने व्यवस्था केन्द्रीय पत्रकारिता तथा आमञ्चार विभागमा लागु गरियोस्। धन्यवाद।

भवदीय
पत्रकारिता तथा आमसञ्चार विभागका विद्यार्थीहरू।

सेतोपाटीबाट